info@nawayug.com

आज तीज, व्रत र पूजाआराधनामा व्यस्त नेपाली महिला

हेटौँडा । हिन्दु नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीज आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरूले भगवान् शिव र माता पार्वतीको पूजा–आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ।

तीजको अवसरमा हेटौँडास्थित पशुपति मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। रातो पहिरनमा सजिएका महिलाहरू पूजा तथा दर्शनका लागि बिहानैदेखि मन्दिर पुगेका छन्। मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ।

हरितालिका तीजमा विवाहित महिलाले श्रीमान्को दीर्घायु, सुख, शान्ति तथा पारिवारिक समृद्धिको कामना गर्दै व्रत बस्ने र अविवाहित महिलाले योग्य वर प्राप्तिको कामना गर्ने धार्मिक विश्वास छ।

तीजका अवसरमा महिलाहरूले शिव मन्दिरमा पूजा–आराधना गर्नुका साथै भेटघाट, नाचगान र तीजका गीतमार्फत पर्व मनाउने गर्दछन्। तीज धार्मिक पर्वसँगै नेपाली महिलाहरूको सांस्कृतिक तथा सामाजिक पर्वका रूपमा समेत मनाइँदै आएको छ।

प्रतिक्रिया