info@nawayug.com

नयाँ कम्पनीबाट राहदानी छपाइ तयारी अन्तिम चरणमा, केही समय सेवा प्रभावित हुने

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ कम्पनीमार्फत राहदानी छपाइका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। विभागका अनुसार सकेसम्म जेठको पहिलो सातादेखि, नभए जेठ महिनाभित्रै नयाँ प्रणालीमार्फत छापिएका राहदानी प्रयोगमा आउनेछन्।

नयाँ प्रणाली कार्यान्वयनको क्रममा केही समय राहदानी वितरण सेवा प्रभावित हुन सक्ने विभागले स्पष्ट पारेको छ। राहदानी प्रणाली, पुस्तिका तथा प्राविधिक संरचना तयार भइसकेको र अब एक–दुई महिनाभित्र हालको प्रणाली पूर्ण रूपमा प्रतिस्थापन हुने जनाइएको छ।

विभागका निर्देशक तथा प्रवक्ता सोमेश थापाका अनुसार नयाँ कम्पनीको राहदानी वितरण सुरु भएपछि केही प्राविधिक समस्या देखिन सक्ने भए पनि त्यस्ता समस्या अल्पकालीन मात्र हुनेछन्।

विभागले जिल्ला प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुन सक्ने जनाएको छ भने विभागबाटै प्रदान गरिने सेवा करिब एक सातासम्म प्रभावित हुन सक्ने उल्लेख गरेको छ।

नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिना लाग्ने अनुमान गरिएको छ। यस अवधिमा आवेदन दिएका सेवाग्राहीले राहदानी प्राप्त गर्न हालभन्दा बढी समय कुर्नुपर्ने सम्भावना रहेको छ।

राहदानी छपाइको जिम्मेवारी जर्मनीका कम्पनी भेरिडोस र मुलभौरलाई दिइएको छ, जसले आवश्यक तयारी पूरा गरिसकेका छन्। यसअघि ढिलाइ भएका कारण विभागले अस्थायी रूपमा विगत १५ वर्षदेखि राहदानी छाप्दै आएको आइडेमियालाई पुनः जिम्मेवारी दिएको थियो। हाल भने आइडेमियाले काम बन्द गरिसकेको र जर्मन कम्पनीहरूले प्रक्रिया अघि बढाइसकेको विभागले जनाएको छ।

प्रतिक्रिया