info@nawayug.com

२७ वर्षीया युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्। गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल माकलबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले बिहीबार राति करिब २ः५० बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।

प्रहरीका अनुसार घटनापछि उनका श्रीमान्ले गुरुङलाई फेला पारी तत्काल शुस्मा कोइराला मेमोरियल अस्पताल, साँखु पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको हो।

गुरुङको अनुहार, छाती तथा दुवै हातसहित शरीरको करिब ५० प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ। उनी सामान्य रूपमा बोल्न सक्ने अवस्थामा रहे पनि उपचार जारी रहेको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


प्रतिक्रिया