काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक परे विदेशी सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्।
आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवाला पक्षबीचको छलफलमा थापाले स्वदेशी विज्ञताको क्षमताले मात्रै सुरुङमा उद्धार सम्भव नहुने अवस्था देखिए बाह्य मुलुकबाट सहयोग लिनुपर्ने बताएका हुन्।
उनले आफूले परराष्ट्रमन्त्रीसँग सम्पर्क गरी उद्धारका लागि विदेशी सहयोग लिन आग्रह गरिसकेको जानकारी दिए। विपद्का बेला छिमेकी तथा अन्य मुलुकबाट सहयोग लिनु स्वाभाविक भएको उनको भनाइ थियो।
बाढी, पहिरो र डुबानबाट उत्पन्न विपद्को अवस्थामा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएका कमजोरीबारे ध्यानाकर्षण गराउने निर्णय कांग्रेसले गरेको छ।
थापाले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै संघीय सरकारलाई स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न आग्रह गरे। स्थानीय तहलाई बाइपास गरेर विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको भनाइ छ।
मुलुक शोकमा रहेका बेला पार्टीका कुनै पनि तहबाट सार्वजनिक उत्सव तथा भड्किला कार्यक्रम नगर्न उनले निर्देशन दिएका छन्। तीजलगायतका पर्व सामान्य रूपमा मनाउन सकिने भए पनि सार्वजनिक उत्सव नगर्न उनले आग्रह गरे।
सोमबारदेखि थापा नेतृत्वको कांग्रेसको विपद् व्यवस्थापन टोली प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत समन्वय गर्ने भएको छ। टोलीले स्थलगत अवस्थाको जानकारी लिएर सरकारलाई आवश्यक सुझाव र दबाब दिने सभापति थापाले बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com