info@nawayug.com

गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई तथा पूर्वलेखा सदस्य कर्णबहादुर राई रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।

सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको देखिएको छ । तर सो रकममध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानीका रूपमा प्रवाह गरिएको पाइएको छ ।

बाँकी रकमको कुनै स्पष्ट विवरण फेला नपरेको र हिनामिना भएको आशंका गरिएको प्रहरीले जनाएको छ । साथै प्रवाह गरिएको ऋणसमेत कमसल वा बिना धितोमा दिइएको खुलासा भएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया