काठमाण्डौं । भारतबाट केरा आउन रोक लगाएपछि चितवनका किसानले उचित भाउ पाउन थालेका छन् । सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन् ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै काँचो केरा प्रतिकोसा ६ रुपैयाँसम्म पाउन थालेका छन् ।
गएको वर्ष यो बेला प्रतिकोसा काँचोको २ देखि ३ रुपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता थियो । तर असोजदेखि भारतबाट केरा भित्रन रोक लगाएपछि केरा आयात हुन छाडेको र किसानले पनि भाउ पाउन थालेका महतोले बताउनुभएको छ ।
उहाँका अनुसार चितवनमा तीन हजार बिघा जमिनमा केराखेती गरिएको छ । यसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुन्छ । चितवनमा विशेषगरी मालभोग, जिनाइन, बिलियम हाइब्रिड जातका केरा खेती हुन्छ । अहिले जिल्लामा ७०० किसानले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् ।
चितवनमा उत्पादित केरा काठमाण्डौ, पोखरा, दाङ, वीरगञ्ज, हेटौँडालगायत मुख्य शहरमा पुग्ने गर्छ । फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अरु बेला केरा उत्पादन राम्रै हुने गरेको सङ्घले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com