info@nawayug.com

दाङ देउखुरीमा कुटपिट, किशोरको मृत्यु एक घाइते

घोराही । दाङको देउखुरी क्षेत्रमा कुटपिटको घटनामा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । राप्ती गाउँपालिका–२ बरहाखुट्टीका १७ वर्षीय स्मित प्रधानको शव शुक्रबार दिउँसो फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार राति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानीका १६ वर्षीय आयुष्मान थापा मगर र स्मित प्रधान साथीको घर जाने भन्दै निस्किएका थिए । उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट पुगेपछि दुई महिला र दुई अपरिचित पुरुषको समूहले कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट घाइते आयुष्मानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ । उनको राप्ती आधारभूत अस्पताल, सिसहनियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिनुभयो ।

घटनाबारे शुक्रबार बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रारम्भमा घाइते आयुष्मानले घटनाबारे केही नबताए पनि पछि स्मित पनि सँगै रहेको खुलाएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो ।

खोजीका क्रममा घटनास्थलबाट करिब डेढ किलोमिटर पूर्व, गोपी नाला नजिकैको सुक्खा खोलाको बगरमा टाउकोमा चोट लागेको अवस्थामा स्मितको शव फेला परेको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया