info@nawayug.com

सम्पत्ति शुद्धीकरण मुद्दा: उच्च राजनीतिक तहमा अनुसन्धान विस्तार

काठमाडौँ । तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को पहलमा अनुसन्धान सुरु गरिएको छ । विभागको पत्रका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल को चल तथा अचल सम्पत्तिबारे अनुसन्धान अघि बढाएको हो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अनुसन्धानकै क्रममा आज बिहान पूर्वमन्त्री दीपक खड्का लाई नियन्त्रणमा लिइएको छ । खड्कामाथि अनुसन्धान गर्न विभागले नै सीआईबीलाई पत्राचार गरेको बताइएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न सीआईबीले आइतबार अदालतबाट म्याद लिने तयारी गरेको छ ।

प्रहरीले पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति, आम्दानीका स्रोत तथा त्यससँग सम्बन्धित अन्य पक्षहरूको विस्तृत अनुसन्धान गर्ने जनाएको छ ।

यसैबीच, भदौ २४ गते भएको आगजनी घटनापछि देउवा र दाहालको निवासबाट जलेको अवस्थामा नगदको अवशेष भेटिएको थियो । यस्तै, पूर्वमन्त्री खड्काको घरबाट पनि जलेको रकम फेला परेको थियो । उक्त रकम त्यसबेला नै विभागले संकलन गरी सुरक्षित राखेको थियो ।

अनुसन्धानलाई प्रभावित नहोस् भनेर स्थानीय प्रशासनले देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउन रोक लगाएको छ । आगजनीपछि क्षतिग्रस्त संरचना हटाएर नयाँ निर्माण गर्ने तयारी भइरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौं को निर्देशनमा भत्काउने कार्य रोकिएको हो ।

प्रहरीले सो स्थानमा रहेका कामदारहरूलाई हटाउँदै अनुसन्धान जारी राखेको जनाएको छ । आगजनीबाट जलेको अवस्थामा डलर तथा नेपाली रुपैयाँ भेटिएको विषयमा पनि अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया