info@nawayug.com

टोल विकास संस्था वडा समन्वय समिति–८ नं. वडाको आयोजनामा सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न

हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा उपमहानगरपालिका वडा नं. ८ को आयोजनामा "सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम" भव्यताका साथ सम्पन्न भएको छ। हेटौंडा-८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित उक्त विशेष समारोहमा वडा भित्र बसोबास गर्ने तथा कक्षा १२ को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका ९२ जना विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यार्थीहरूलाई भविष्यको सही मार्ग पहिचान गर्न र बजारको माग अनुसारको विषय रोज्न मद्दत पुर्‍याउने उद्देश्यले कार्यक्रममा करियर काउन्सिलिङ समेत प्रदान गरिएको थियो।

​टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा-८ का अध्यक्ष कुमार के.सी. को सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रमको विधिवत् उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि पौडेलले विद्यार्थी जीवनमा सही मार्गदर्शन र करियर काउन्सिलिङको निकै ठूलो महत्व रहने औंल्याउनुभयो। उहाँले शिक्षालाई प्रविधिमैत्री र व्यावहारिक बनाउँदै युवा जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्नेतर्फ राज्य र स्थानीय निकायको ध्यान जानुपर्नेमा जोड दिनुभयो।


​कार्यक्रममा बोल्नुहुँदै सभाध्यक्ष एवं टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष कुमार केसीले हेटौंडा-८ भित्रका कुनै पनि विद्यार्थीले अब आर्थिक अभावकै कारण पढ्नबाट बञ्चित हुनु नपर्ने र कसैको पनि पढाइ नरोकिने उद्घोष गर्नुभयो। उहाँले भन्नुभयो, "म स्वयं पनि शैक्षिक क्षेत्रकै व्यक्ति भएकाले विद्यार्थीका समस्याहरूलाई नजिकबाट बुझेको छु। विद्यार्थीहरूले भोग्नुपर्ने हरेक समस्याको समाधान गर्न र उनीहरूको उज्ज्वल भविष्यका लागि टोल विकास संस्था वडा समन्वय समिति सधैं तयार रहनेछ।"

​त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि टोल विकास नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले हेटौंडा-८ को समन्वय समितिको कार्यकुशलताको प्रशंसा गर्नुभयो। उहाँले इतिहासकै क्रियाशील, जनताको भावना बुझेको, जनतासँग प्रत्यक्ष जोडिएको र टोल विकास संस्थाहरूलाई कुशल ढंगले परिचालन गर्न सक्ने नेतृत्व वडा नं. ८ ले पाएको भन्दै खुसी व्यक्त गर्नुभयो।


​कार्यक्रममा हेटौंडा-८ का वडा अध्यक्ष रामकृष्ण थापा तथा हेटौंडा उपमहानगरपालिकाका अन्य जनप्रतिनिधिहरू विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो। उहाँहरूले वडाको शैक्षिक विकास र युवाहरूको वृत्तिविकासका लागि टोल विकास संस्थाले खेलेको भूमिकाको उच्च प्रसंशा गर्नुभयो। 

​राष्ट्रिय गान र शहीदप्रतिको मौन धारणसँगै सुरु भएको उक्त समारोहमा चन्द्रोदय मा.व. का प्रधानाध्यापक जिदराज ढकाल, जिल्ला विकास समितिका सदस्यद्वय गणेश कुमारी प्रधान र पूर्णध्वज खड्काको आतिथ्यता रहेको थियो। त्यस्तै, विभिन्न पार्कका अध्यक्षहरू धर्मराज पुडासैनी, सरस्वती केसी र टीका कडेल, तथा वडा नं. ८ भित्र सञ्चालित विभिन्न सहकारीका अध्यक्षहरू कुलप्रसाद पौडेल र मोतीलाल लामा लगायतको विशेष उपस्थिति रहेको थियो।


​समारोहमा बाल सञ्जाल हेटौंडा-८ का अध्यक्ष, विभिन्न टोल विकास संस्थाका पूर्व तथा वर्तमान अध्यक्ष एवं पदाधिकारीहरू, बुद्धिजीवी, स्थानीय भद्रभलाद्मी, अभिभावक तथा ठूलो संख्यामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। आयोजकका अनुसार यस कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो रुचि र क्षमता अनुसारको करियर रोज्न व्यावहारिक सल्लाह र थप हौसला प्रदान गरेको छ।


प्रतिक्रिया