काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशको सरकार गठनसम्बन्धी सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा सरकार गठनको गणितीय खेलमा नलाग्ने र सरकारमा सहभागी नहुने निर्णय सर्वसम्मत रूपमा गरेको हो।
थापाका अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय र निर्देशनअनुसार बागमती प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरिएको हो।
यसअघि एमालेले साउन ६ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकार गठनका लागि नेतृत्व बाँडफाँटको सहमति भएको थियो, जसअनुसार मुख्यमन्त्री एमालेको भागमा परेको छ।
तर सरकार गठनका लागि आवश्यक ५३ सांसदको समर्थन जुटाउन एमाले–नेकपासँग ५१ सांसद मात्रै छन्। १२ सांसद रहेको राप्रपाले सत्ता समीकरणबाट अलग रहने निर्णय गरेपछि बहुमत पुर्याउन अन्य साना दलहरूको समर्थन आवश्यक पर्ने देखिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com