काठमाडौँ । रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा युद्धविराम सुरु भएको छ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलपछि मानवीय सहायता पुर्याउन र युद्धका कारण जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न युद्धविराम लागू गरिएको हो ।
मेलानिया ट्रम्पले एक साताअघि युद्धविरामको घोषणा गरेकी थिइन् । त्यसपछि मानवीय सहायता अभियान सञ्चालन गर्ने उद्देश्यले युद्धविराम लागू गरिएको जनाइएको छ ।
रुसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत दिएको जानकारीअनुसार मानवीय सहायता अभियानको तयारीस्वरूप मस्को समयअनुसार बिहान ४ बजे अर्थात् जीएमटीअनुसार बिहान १ बजेदेखि युक्रेनी सहर खेरसोन क्षेत्रतर्फको गोलीबारी रोकिएको थियो ।
निप्रो नदीको दक्षिणी किनारमा रहेको ओलेश्की खेरसोन क्षेत्रमा रुस र युक्रेनबीचको अग्रपंक्तिनजिक अवस्थित छ । युद्धका कारण सहरमा फसेका सर्वसाधारणले खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको अभाव झेलिरहेका छन् ।
युक्रेनी संसद्का मानव अधिकार आयुक्त दिमित्रो लुबिनेत्सले सामाजिक सञ्जालमार्फत युद्धविराम सुरु भएको पुष्टि गरेका छन् । उनले युक्रेनी पक्षले आफ्ना प्रतिबद्धता पालना गरिरहेको बताएका छन् ।
ओलेश्कीमा अझै ६ हजार मानिस
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको केही दिनमै ओलेश्की सहर कब्जा गरेको थियो । निप्रो नदीको एकातर्फ युक्रेनी सेना र अर्कोतर्फ रुसी सेनाको उपस्थितिका कारण सर्वसाधारण सहरमै फसेका थिए । उनीहरूले लामो समयदेखि खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभाव सामना गर्दै आएका छन् ।
युद्धअघि ओलेश्कीमा करिब २४ हजार मानिस बसोबास गर्थे । युक्रेनको अनुमानअनुसार अहिले सहर र आसपासका क्षेत्रमा करिब ६ हजार मानिस बाँकी छन् । तीमध्ये करिब २०० जना बालबालिका छन् ।
मानवीय संकट गहिरिँदै गएपछि प्रभावित नागरिकसम्म सहायता पुर्याउन र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न युद्धविराम आवश्यक भएको बताइएको छ ।
मेलानिया ट्रम्पको मध्यस्थतामा युद्धविराम
अमेरिकी ह्वाइट हाउसले गत साता मेलानिया ट्रम्पले ओलेश्कीमा युद्धविराम गराउन भूमिका खेलेको जनाएको थियो । ह्वाइट हाउसको विज्ञप्तिअनुसार दुवै देशका गैरसैनिक तथा नागरिक नेतृत्वका प्रतिनिधिहरूले ओलेश्कीका बासिन्दालाई उनीहरूकै घरमा भेटेर आवश्यक सहायताको मूल्याङ्कन गर्नेछन् ।
मेलानिया ट्रम्प पछिल्ला वर्षमा रुस–युक्रेन युद्धका कारण उत्पन्न मानवीय समस्यामा पनि संलग्न हुँदै आएकी छन् । सन् २०२५ अगस्टमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र लेख्दै विश्वभरका बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि कदम चाल्नुपर्नेमा जोड दिएकी थिइन् ।
ओलेश्कीमा सुरु भएको युद्धविरामले युद्धग्रस्त क्षेत्रमा फसेका सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ । तर, युद्धविराम कति समयसम्म कायम रहने र मानवीय सहायता अभियान कति प्रभावकारी हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com