info@nawayug.com

अन्तर्राष्ट्रिय आइटी प्रतियोगितमा नेपाली विद्यार्थी पुरस्कृत

काठमाण्डौं । विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा यही जेठ २ र ३ गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली ३० उत्कृष्टभित्र पर्न सफल भएका हुन् ।

संयुक्त राष्ट्रसङ्घले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापनजस्ता विषयमा नवीननम् अवधारणा पेस गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन् ।

सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले यस वर्ष पनि विभिन्न विद्यालयहरूसँग समन्वय गरी आठ वर्षदेखि १८ वर्षसम्मका ९८ विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो । यसै सन्दर्भमा नीमा एजुकेसन फाउन्डेसनले जाकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढाउने विद्यालय तथा विद्यार्थीलाई हिजो काठमाण्डौमा सम्मान तथा पुरस्कृत गरेको छ ।

कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका आइटी विभाग प्रमुख प्रा डा सुदन झाले नेपाली परिवेशमा ३० वर्षअघिको कम्प्युटर शिक्षाजस्तै अहिले सूचना प्रविधि क्षेत्रअन्तर्गत एआई, रोबास्टिक र कोडिङले बजार लिएको बताउनुभयो ।

सूचना प्रविधिको क्षेत्रमा अहिले समग्र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान् जनशक्ति नेपालमा उत्पादन भएकामा गर्व गर्दै प्रा डा झाले समयको चापलाई दृष्टिगत गरी विद्यालय शिक्षामा आइटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया