बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार मिडियालाई कमजोर होइन, बलियो बनाउनेतर्फ प्रतिवद्ध रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ रूपन्देहीको आयोजनामा बुटवलमा सोमबार भएको राष्ट्रिय सञ्चार सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री आचार्यले लोकतन्त्र प्राप्तिमा नेपाली प्रेसको ठुलो योगदान रहेको भन्दै प्रदेश सरकार मिडियालाई बलियो बनाउनेतर्फ प्रयासरत रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले मिडियाको विकासका लागि ठुलो बजेट विनियोजन गरेको बताउँदै अरू प्रदेशभन्दा लुम्बिनी प्रदेश सरकार मिडियामैत्री रहेको उल्लेख गर्नुभयो । लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई सङ्कुचनमा राख्ने काममा प्रदेश सरकार कहिल्यै नलाग्ने मुख्यमन्त्रीको प्रतिबद्धता छ ।
प्रदेश सरकार मिडियामैत्री रहेको उल्लेख गर्दै उहाँले मिडियाका सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको दाबी गर्दै मुख्यमन्त्री आचार्यले कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताउनुभएको हो ।
पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरू सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानव अधिकारकर्मी सडकमा उत्रिएको स्मरण गर्नुभयो ।
उहाँले सञ्चार क्षेत्रमा देखिएका चुनौतीबारे सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग र व्यवसाय प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले बुटवलमा मिडिया सेन्टर निर्माण गर्न बुटवल उपमहानगरपालिकाले देखाएको उत्सुकताको सराहना गर्नुभयो । उहाँले स्थानीय पालिका र प्रदेश सरकार मिडियामैत्री हुनसके जराबाटै प्रेस बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटीका रूपमा विकास गर्न सकिने सम्भावना रहेको बताउँदै बुटवलका पत्रकारसँग सहकार्य गर्न बुटवल उपमहानगर तयार रहको धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासङ्घ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि र मिडिया नीतिलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com