१९ चैत २०८२, बिहिबार ०५:४९ मा प्रकाशित
nawayug.com
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन सुरु गरिएको छ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिइरहेका छन् ।
पक्राउपछि स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरूले अस्पताल बाहिर लैजान नमिल्ने सुझाव दिएपछि उनीसँग अस्पतालमै बयान लिन थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनका अनुसार जाँचबुझ आयोगले औंल्याएका विषयहरूमा आजदेखि बयान प्रक्रिया सुरु गरिएको हो ।
यसैबीच, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्लेका अनुसार लेखकसँगको बयान प्रक्रिया पूरा भइसकेको छ ।