info@nawayug.com

भीमफेदीमा हाईस दुर्घटना : ब्रेक फेल हुँदा ३ जना घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

आज बिहान करिब ११:२० बजे काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडी अचानक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक प्रेम तामाङको कमाण्डमा ट्राफिकसहित ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गाडीमा चालकसहित १० जना सवार रहेकोमा ३ जना घाइते भएका हुन्।

घाइते हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका–११ का ८६ वर्षीय गोरे राई रहेका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ। ब्रेक फेल भएपछि गाडीबाट हाम फाल्दा सोही गाडीको पछाडिको टायरले कुल्चिएको प्रहरीले जनाएको छ।

यस्तै, सोही स्थानकी ६२ वर्षीया हर्क माया राईको निधार र दाहिने हातमा मध्यम चोट लागेको छ। उनी पनि गाडीबाट हाम फाल्दा घाइते भएकी हुन्।

त्यसैगरी, उदयपुर त्रियुगा नगरपालिका–१० का शम्भु कटुवाल (अं ३५/४० वर्ष) को टाउकोमा मध्यम चोट लागेको छ।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अन्य यात्रुहरू सामान्य घाइते भई आफैं उपचारका लागि गएको बताइएको छ।

दुर्घटनापछि गाडी घटनास्थलमै रहेको छ भने सवारी आवागमन भने अवरुद्ध भएको छैन। दुर्घटनापछि चालक भने सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

प्रतिक्रिया