info@nawayug.com

धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते

काठमाण्डौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा तीन वटा गाडी ठोक्किँदा ३७ जना घाइते भएका छन् । गल्छी गाउँपालिका–६, बैरेनीमा गएराति रोकिराखेको बा ०३–००१–००६ ख २०५६ नम्बरको ट्रकलाई काठमाण्डौबाट बाग्लुङका लागि छुटेको बा ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

लगत्तै काठमाण्डौबाट वीरगञ्जका लागि छुटेको अर्को बस बा ०१–००६ ख ६७१६ ले बाग्लुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकालाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

घाइतेमध्ये ३४ जनाको काठमाण्डौ ट्रमा सेन्टर, शिक्षण अस्पतालसहित विभिन्न अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । तीनवटै गाडीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया