info@nawayug.com

विद्यार्थी आन्दोलन चर्किँदा मोदी सरकारमाथि बढ्यो दबाब

काठमाडौं । भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ । भारतीय प्रहरीले हिजो राजधानी नयाँ दिल्लीको केन्द्रमा हजारौँ प्रदर्शनकारीलाई संसद्तर्फ मार्च गर्न रोक्न अश्रुग्यास प्रहार गरेको छ ।

त्यस क्रममा केही प्रदर्शनकारी र प्रहरी कर्मचारी घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्रदर्शनकारीले शिक्षामन्त्रीको राजीनामा र परीक्षा सुधारको माग गर्दै आएका छन् । दिल्ली प्रहरीले संयम बन्न र ‘कुनै गैरकानुनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन’ आग्रह गरेको भारतीय सञ्चारमाध्याले जनाएका छन् ।

विगतदेखि नै प्रदर्शनकारीले परीक्षामा प्रश्नपत्र बाहिरिने, प्राविधिक समस्या जस्ता अनियमितताका कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन् । पछिल्लो प्रदर्शन गएको शनिबार अभियन्ता सोनम वाङचुकलाई जबरजस्ती अस्पताल लगिएपछि भएको हो । उहाँले कक्रोच जनता पार्टी’ (सीजेपी) ले शुरु गरेको आन्दोलनको समर्थनमा अनशन गर्दै आउनुभएको छ ।

सीजेपी बोस्टन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्किएका ३० वर्षे अभिजित दिपकेले गठन गर्नुभएको हो । सन् २०२४ मा तेस्रो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीका लागि पछिल्लो प्रदर्शन ठूलो चुनौती बनेको विश्लेषण गरिएको छ । विपक्षी कांग्रेस नेता राहुल गान्धीले मोदी भारतको इतिहासकै युवाप्रति सबैभन्दा असंवेदनशील प्रधानमन्त्री भएको आरोप समेत लगाउनुभएको छ ।

प्रतिक्रिया