info@nawayug.com

युक्रेन युद्धका लागि रुसले थप ३० हजार उत्तर कोरियाली सैनिक खोजिरहेको छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशविरुद्ध लड्न रुसले उत्तर कोरियाबाट थप ३० हजार सैनिक र ‘मिसाइल लन्चर’ अर्थात् क्षेप्यास्त्र प्रहारक मागेको बताउनुभएको छ ।

गएराति अबेर सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा जेलेन्स्कीले युक्रेनसँगको सीमा नजिकै रुसको भोरोनेज क्षेत्रमा थप सेनाका लागि तयारी भइरहेको बताउनुभएको हो ।

सन् २०२४ मा कुर्स्क क्षेत्रमा युक्रेनको प्रत्याक्रमणको सामना गर्न रुसलाई सघाउन उत्तर कोरियाले हजारौँ सैनिक पठाएको विवरण सार्वजनिक भएका समाचार संस्था एएफपीले जनाएको छ । विवरणअनुसार सन् २०२२ देखि रुसको आक्रमणमा सघाउन उसले हतियार पनि उपलब्ध गराउँदै आएको छ ।

दक्षिण कोरियाका अनुसार यस युद्धमा झन्डै २ हजार उत्तर कोरियाली सैनिक मारिएका छन् ।

जेलेन्स्कीले यो केवल युक्रेनका लागि मात्र खतरा नभई रुसले उत्तर कोरियालाई युद्ध कसरी लड्ने, आफ्ना हतियारहरूमा सुधार गर्ने र तिनको प्रयोगसम्बन्धी वास्तविक युद्ध अनुभव हासिल गर्ने कुरामा मद्दत गरिरहेको उल्लेख गर्नुभयो । यी सबै कुरा उत्तर कोरियाली क्षेप्यास्त्रको पहुँचभित्र रहेका एशियाका सबै मानिसका लागि खतरा रहेको उहाँको भनाइ छ ।

सन् २०२४ मा रुस र उत्तर कोरियाबीच सैन्य सहयोगसम्बन्धी सन्धिमा हस्ताक्षर भएको थियो भने यसै हप्ता मस्को भ्रमणका क्रममा उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईले युक्रेनविरुद्धको युद्धमा रुसलाई आफ्नो समर्थन रहेको कुरा पुनः पुष्टि गर्नुभयो ।

सैन्य सहयोगको बदलामा उत्तर कोरियाले नगद, सैन्य प्रविधि तथा खाद्य र ऊर्जाजन्य सामग्रीहरू प्राप्त गरेको खबरमा उल्लेख छ । यस उसलाई आफ्नो आणविक कार्यक्रमका कारण लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गर्न मद्दत पुर्‍याएको छ ।

प्रतिक्रिया