info@nawayug.com

सेमिफाइनलअघि यमालको दाबी : ‘हामी फ्रान्ससँग अलिकति पनि डराएका छैनौं ’

एजेन्सी । विश्वकप २०२६ को पहिलो सेमिफाइनल समीकरण पूरा भएको छ । आउँदो मंगलबार अमेरिकाको डलासमा फाइनल यात्राका लागि फ्रान्स र स्पेन आमनेसामने हुनेछन् ।

यसपटकको विश्वकपमा स्पेनको तुलनामा फ्रान्सलाई अलि बलियो दाबेदार मानिएको छ । फ्रान्सले मोरक्कोमाथि दबाब कायम राख्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने स्पेनले बेल्जियमसँग अन्तिम समयसम्म संघर्ष गर्नुपरेको थियो ।

जारी प्रतियोगिताको सुरुवातदेखि नै फ्रान्स सबैभन्दा सन्तुलित र उत्कृष्ट टिमको रूपमा देखिएको छ । तर, स्पेनिस युवा खेलाडी लामिन यमालको दाबी छ, ‘यदि फ्रान्सलाई कसैले पाखा लगाउन सक्छ भने त्यो स्पेन नै हो ।’

बेल्जियम विरुद्धको जितपछि यमालले संचारकर्मीसँग कुरा गर्दै भने, ‘जारी विश्वकपमा कसैले पनि हामीसँग डटेर खेल्न सकेका छैनन् । हामीसँग सबै टिमहरु डिफेन्समा मात्र केन्द्रित हुन्छन् । यही कारण हामीलाई विपक्षीको पोस्टमा प्रहार गर्न अलि गाह्रो हुन्छ । तर, अन्तत जित चाहिँ हाम्रै भइरहेको छ । मलाई के लाग्छ भने यदि फ्रान्स कसैसँग डराउनुपर्छ भने त्यो हामीसँगै हो । हामीले सन् २०२४ को युरो कपमा फ्रान्सलाई नै घर पठाएका थियौं । हामी दुवै विश्वकपमा उत्कृष्ट टिम हौं । मैदानमा दुई टिमको खेल कस्तो हुन्छ, त्यो हेर्न त बाँकी नै छ । तर, हामी फ्रान्ससँग अलिकति पनि डराएका छैनौं ।’

विगतको तथ्यांक हेर्ने हो भने पछिल्ला दुई भेटमा फ्रान्समाथि स्पेन हावी भएको छ । सन् २०२४ को युरो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो । सन् २०२५ को नेसन्स लिगको सेमिफाइनलमा पनि ५–४ को रोमान्चक जित निकाल्दै स्पेन नै विजयी भएको थियो ।

प्रतिक्रिया