info@nawayug.com

नेपालमा मौसमको दुई फरक रूप: कहीं घाम, कहीं भारी वर्षा

काठमाण्डौं । आज देशको पश्चिमी क्षेत्रमा प्रचण्ड गर्मी हुँदा मध्य र पूर्वी भू–भागमा वर्षा भएको छ । सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भइरहँदा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा पानी परेको हो ।

पछिल्लो २४ घण्टामा यी चार प्रदेशका सबैजसो ठाउँमा वर्षा भएकोमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भने एकाध ठाउँबाहेक पानी परेको छैन ।

आज दिउँसो पश्चिम तराईका सबैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ । यस्तै २४ घण्टामा सुनसरीको चतरामा झन्डै १०० मिलिमिटर वर्षा भएको छ भने हिजो झापाको केचनामा २ घण्टामै १५२ मिलिमिटर वर्षा भएको थियो ।

एकैदिन देशको एउटा क्षेत्रमा धेरैतिर पानी पर्दा अर्को क्षेत्रमा प्रचण्ड गर्मी हुनुको मुख्य कारण पश्चिमी वायु र मनसुनी वायुबीचको द्वन्द्व रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सहप्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलले बताउनुभयो ।

पूर्वबाट मनसुनी हावाले र पश्चिमबाट पश्चिमी वायुले दबाव दिँदा पूर्वी नेपालमा वर्षा भइरहँदा पश्चिममा सुक्खा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अझै तीन दिन तापक्रम बढ्ने र पूर्वी नेपालमा केही दिन वर्षाकै सम्भावना छ ।

मनसुनी हावाको प्रभाव देखिए पनि यस वर्षको मनसुन भने आइसकेको छैन । नेपालमा मनसुन आइपुग्ने औसत मिति जुन १३ हो र यसपालि औसत मितिभन्दा केही दिनअघि नै आइपुग्ने मौसमविद्को अनुमान छ ।

प्रतिक्रिया