info@nawayug.com

एकैदिन २७० भन्दा धेरै आरोही पुगे सगरमाथाको शिखरमा

काठमाण्डौं । हिजो एकैदिन २७० जनाभन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अनुसार वसन्त ऋतुको आरोहणअन्तर्गत हिजो २७० जनाभन्दा धेरै आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन् ।

सङ्घका महासचिव ऋषिराम भण्डारीले विज्ञप्ति निकालेर यो आरोहण नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन भएको अहिलेसम्मकै ठूलो र ऐतिहासिक आरोहणमध्ये एक भएको जानकारी दिनुभएको छ ।

यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथामा ५०० भन्दा धेरै आरोहीले अनुमति लिएका छन् । यो सङ्ख्या पनि एउटा सिजनमा लिएको अहिलेसम्मकै धेरै हो ।

हरेक अनुमति लिने आरोहीका साथमा उनीहरूका सहयोगीसमेत रहने भएकोले यसपटक १ हजारभन्दा धेरै मानिस सगरमाथाको शिखर चुम्ने प्रयासमा हुनेछन् ।

बाटो बनाउने टोलीले गएको वैशाख ३० गते शिखरसम्म डोरी टाँग्ने काम सकिएपछि त्यसयता मौसमको अवस्थाअनुसार आरोहण भइरहेको छ ।

प्रतिक्रिया