info@nawayug.com

हेटौँडामा पनि मनाइयो पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार हेटौँडामा पनि मनाइएको छ । नेकपा एमाले मकवानपुरले हेटौँडा–५ स्थित जिल्ला पार्टी कार्यालयमा स्मृति सभा आयोजना गरी श्रेष्ठको योगदानको चर्चा गर्दै स्मृति दिवस मनाएको हो ।

जिल्ला पार्टी कार्यालय अगाडि रहेको पुष्पलाल स्मृति पिस पार्कमा रहेको श्रेष्ठको शालिकमा पार्टी नेता तथा कार्यकर्ताहरूले माल्यार्पण गरेका थिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला विकास समितिका पूर्व अध्यक्ष रामेश्वर राना मगरको प्रमुख आतिथ्यता रहेको थियो । वि. सं. २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले नेकपा स्थापना गर्नुभएको थियो । त्यसअघि वि.सं. १९९८ मा उहाँले नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरी राजनीतिक यात्राको जग बसाल्नुभएको थियो ।

स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि रामेश्वर राना मगरले पुष्पलालले देखाएको वर्गीय पक्षधरताको बाटोमै नेकपा एमाले अडिग रहेको बताउनुभयो । उहाँले पुष्पलालले २००६ सालमै साम्रज्यवाद र सामन्तवादको विरुद्धमा श्रमजीवी वर्गको पक्षमा उभिनुपर्ने स्पष्ट अवधारणा ल्याएको स्मरण गर्दै अहिलेको सन्दर्भमा पनि सोही विचार सान्दर्भिक रहेको उल्लेख गर्नुभयो । रानाले संगठनलाई जनवादी केन्द्रीयताको आधारमा पद्धतिबद्ध बनाउनुपर्ने र व्यक्तिवादी संकीर्णता त्यागेर सामूहिक बलमा समाज रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय लोकप्रियतावादले सिर्जना गरेको भ्रम र निराशालाई चिर्दै समृद्ध नेपाल बनाउने यात्रामा एमालेले नै नेतृत्वदायी भूमिका खेल्ने उहाँले दाबी गर्नुभयो । युवाहरूलाई उत्पादन र रोजगारीसँग जोड्दै सामाजिक न्यायसहितको आर्थिक रूपान्तरणमा लाग्न उहाँले कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा एमाले मकवानपुरका कार्यवाहक जिल्ला अध्यक्ष हिदम लामाले पुष्पलालले जातपातभन्दा माथि उठेर वर्गीय समाज निर्माणको सपना देखेको बताउनुभयो । पुष्पलालले आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा थर समेत उल्लेख नगरेर वर्गीय दृष्टिकोणलाई प्राथमिकता दिएको चर्चा गर्दै लामाले अहिले देखिएको जातीय राजनीतिक विचलनप्रति कडा आपत्ति जनाउनुभयो । उहाँले कार्यकर्ताहरूलाई वर्गीय दृष्टिकोणमा स्पष्ट हुन आग्रह गर्दै जातको पछि लाग्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि घातक हुने चेतावनी दिनुभयो । लामाले केपी ओली नेतृत्वको सरकारको पालामा भएका विकास निर्माणका कामहरू ऐतिहासिक रहेको उल्लेख गर्दै पार्टी पंक्तिलाई निराश नभई संगठन पुनर्गठन र जनसेवामा लाग्न आग्रह गर्नुभयो । नयाँ सरकारको हनिमून समय सकेको र अब सरकारका कमजोरीहरूलाई पर्दाफास गर्दै जनताको बीचमा पुनः विश्वास जगाउनुपर्ने समय आएको उहाँको भनाइ छ ।

प्रतिक्रिया