info@nawayug.com

मोटरसाइकल दुर्घटना, घाइते दुवैको हेटौँडामा उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सुपारिटार ब्यारेकनजिक त्रिभुवन राजपथमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

प्रहरीका अनुसार हेटौँडाबाट भैंसेतर्फ जाँदै गरेको बा ६० प ४९५४ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ३८ प ९३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा बा ६० प ४९५४ नम्बरका चालक, भारतको बिहार पूर्वी चम्पारण घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३७ वर्षीय सकिम आलम घाइते भएका छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ।

त्यस्तै, अर्को मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–१ का ४९ वर्षीय केसरी साह पनि घाइते भएका छन्। उनको दाहिने खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुवै मोटरसाइकल तथा सम्बन्धित कागजपत्र नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया