info@nawayug.com

उच्चस्तरीय वार्ता रुस र इरानबिच क्षेत्रीय शान्तिबारे

मस्को । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीबिच टेलिफोन वार्ता भएको छ । उक्त वार्तामा दुवै पक्षले इरानको आणविक कार्यक्रम तथा मध्यपूर्वको समग्र सुरक्षा अवस्थाबारे विचार आदान प्रदान गर्नुभएको छ ।

रुसको विदेश मन्त्रालयका अनुसार, छलफलमा क्षेत्रीय अवस्थाको वर्तमान विकास क्रम र बढ्दो तनावलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने सम्भावनाबारे गम्भीर र रचनात्मक संवाद भएको थियो । दुवै मन्त्रीले द्वन्द्वको चाँडो अन्त्य र क्षेत्रीय स्थायित्व कायम गर्न आवश्यक कूटनीतिक प्रयासको महत्वमा जोड दिनुभयो ।

रुसी पक्षले मध्यस्थता तथा कूटनीतिक पहललाई निरन्तर समर्थन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै, सबै पक्षलाई संवाद र समझदारीमार्फत समाधान खोज्न प्रोत्साहित गरेको छ । साथै, दीर्घकालीन शान्ति र स्थिरता कायम गर्न राजनीतिक प्रक्रियालाई अघि बढाउन सहयोग गर्ने तयारी पनि व्यक्त गरिएको छ ।

वार्तामा अन्तर्राष्ट्रिय समुद्री मार्गको सुरक्षित सञ्चालन, विशेष गरी होर्मुज जलडमरू हुँदै रुसका जहाज तथा मालसामानको सुरक्षित आवागमन सुनिश्चित गर्ने विषयमा पनि सौहार्दपूर्ण छलफल भएको जनाइएको छ । दुवै पक्षले यस विषयलाई अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिका दृष्टिले अत्यन्त महत्वपूर्ण मानेका छन् । यो संवादलाई दुवै देशबिचको निरन्तर कूटनीतिक सम्पर्क र क्षेत्रीय शान्ति तथा स्थिरताप्रति साझा प्रतिबद्धताको सकारात्मक सङ्केतका रूपमा लिइएको छ ।

प्रतिक्रिया