काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रमले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी छिन् ।
प्रतिनिधि सभामा बिहीबार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले वर्तमान सरकारप्रति जनताले असाधारण आशा राखेको भएपनि सरकारले ल्याएको नीति तथा कार्यक्रमले उनीहरूको भरोसालाई सम्बोधन गर्न नसकेको बताइन् ।
नीति तथा कार्यक्रममा स्पष्ट दृष्टि, कार्यान्वयनको आधार र जनजीवन परिवर्तन गर्ने साहसिक संकल्प नदेखिएको उनको भनाइ छ । उनका अनुसार, नीति तथा कार्यक्रम शब्द छन्, दृष्टि छैन । घोषणा छन्, दिशानिर्देश छैन । नाराहरू छन्, तर कार्यान्वयनको आधार छैन ।
‘यो सरकारप्रति नेपाली जनताले असाधारण आशा राखेका थिए । जनताले सोचेका थिए, अव शासनको शैली फेरिनेछ, राज्यको सोच फेरिनेछ, प्राथमिकता फेरिनेछ, तर दुखका साथ भन्नुपर्छ सरकारद्धारा प्रश्तुत नीति तथा कार्यक्रमले जनताको आशा, उत्साह र भरोसालाई सम्बोधन गर्न सकेन,’ उनले भनिन्, ‘यो नीति तथा कार्यक्रम पढ्दा यस्तो लाग्छ, शब्द छन्, दृष्टि छैन् । घोषणा छन्, दिशानिर्देश छैन । नाराहरू छन् तर कार्यन्वयनको आधार छैन ।’
उनले आफूलाई नवीन सोचको सरकार बताउने नेतृत्वले ल्याएको दस्तावेजमा नवीनता र स्पष्टता नरहेको टिप्पणी गरिन् । उनका अनुसार नीति र कार्यक्रमबीचको भिन्नता समेत स्पष्ट छैन । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय संकल्पलाई नीति तथा कार्यक्रमबाट हटाएको भन्दै असन्तुष्टी जनाइन् ।
‘आफूलाई नविन सोचको अवतार भनिने सरकारले ल्याएको दस्तावेजमा न नविनता देखियो, न स्पष्टता, न जनताको जीवन बदल्ने साहसिक संकल्प नै देखियो । नीति हो की कार्यक्रम यो पनि स्पष्ट छुट्याइएको छैन । नीति के हो, कार्यक्रम के हो, छुट्याउन गाह्रो छ,’ उनले भनिन्, ‘यो नीति तथा कार्यक्रम सरकारको मात्र होइन, राष्ट्रको साझा दस्तावेज हो । यसको उत्कृष्टता हामी सबैको चाहाना हो । त्यसकारण यसको आलोचना गर्नु विरोधको लागी विरोध होइन ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com