info@nawayug.com

राउण्ड टेबल नेपालको नयाँ कार्यसमिति चयन, अध्यक्षमा साकेत मुरारका

वीरगञ्ज । राउण्ड टेबल नेपालको नयाँ कार्यसमिति अध्यक्षमा साकेत मुरारका निर्वाचित भएका छन् ।

वीरगञ्जमा सम्पन्न २६औँ राष्ट्रिय वार्षिक साधारणसभाले उपाध्यक्षमा रोहित अग्रवाल, सचिवमा भास्कर सोनी, कोषाध्यक्षमा धीरज अग्रवाल र सम्पादकमा राहुल अग्रवाललाई चयन गरेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीमा कृष्ण अटल र निर्वतमान अध्यक्षका रूपमा सुमित मित्तल रहेका छन् ।

अध्यक्षमा निर्वाचित मुरारकाले संस्थाको मूल उद्देश्यमाथि प्रकाश पार्दै राउण्ड टेबल १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूको संस्था भएको जानकारी दिए ।

उनले भने, “हाम्रो मूल मन्त्र Adopt, Adapt, Improve हो। हामी समाजका चुनौतीहरूलाई चिन्छौँ, त्यसलाई स्थानीय सन्दर्भअनुसार आत्मसात् गर्छौँ र निरन्तर सुधारतर्फ अघि बढ्छौँ ।”

नयाँ कार्यसमितिले आगामी कार्यकालका लागि केही योजना सार्वजनिक गरेको छ। संस्थाले विद्यालयहरूको स्तरवृद्धि गर्दै ‘राउण्ड टेबल नेपाल मोडल स्कुल’ स्थापना गर्ने र विपन्न बालबालिकाका लागि छात्रवृत्ति सहयोग प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी, वातावरण संरक्षण र शिक्षालाई जोड्ने गरी ‘SWAP’ नामक नयाँ परियोजना सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ । यसअन्तर्गत पुनः प्रयोग र रिसाइकल गर्न मिल्ने सामग्रीहरू संकलन गरी त्यसबाट प्राप्त रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिनेछ ।

राउण्ड टेबल नेपालले विगतका वर्षहरूदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक सेवा तथा युवा नेतृत्व विकासका कामहरू गर्दै आएको छ ।

प्रतिक्रिया