info@nawayug.com

हिमाली उचाइमा क्रिकेटको नयाँ रोमाञ्च, अपी बेसक्याम्पमा धनगढी–११ विरुद्ध अपी–११

धनगढी । समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा रहेको दार्चुलाको अपी हिमाल बेसक्याम्पमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ। हिमाली पर्यटनलाई खेलकुदसँग जोड्दै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आगामी कात्तिक १८ गते धनगढी–११ र अपी–११ बीच प्रतिस्पर्धा हुन लागेको हो।

अपिहिमाल गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म आयोजना गर्न लागेको ‘अपी हिमाल पर्यटन उत्सव, २०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। सामान्यतया तराई तथा सहरी क्षेत्रका मैदानमा खेलिने क्रिकेटलाई उच्च हिमाली आधार शिविरसम्म पुर्‍याउने यो प्रयासले अपी हिमालको पर्यटकीय सम्भावनालाई थप उजागर गर्ने अपेक्षा गरिएको छ।

विश्वका विभिन्न उच्च स्थानमा यसअघि पनि क्रिकेट प्रतियोगिता आयोजना भएका छन्। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् २०१४ सेप्टेम्बर २६ मा तान्जानियाको किलिमन्जारो पर्वतमा समुद्री सतहबाट पाँच हजार ७५२ मिटर उचाइमा क्रिकेट खेलिएको थियो। त्यस्तै, सन् २००९ अप्रिल २१ मा नेपालको सगरमाथा क्षेत्रमा पर्ने गोरकशेपमा पाँच हजार १६४ मिटर उचाइमा ‘द एभरेस्ट टेस्ट’ आयोजना गरिएको थियो।

अपी हिमालमा हुन लागेको प्रतियोगिता विश्वकै उच्च स्थानको क्रिकेट खेल नभए पनि सुदूरपश्चिमको हिमाली पर्यटन प्रवर्द्धनका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।

सात हजार १३२ मिटर अग्लो अपी हिमालको काखमा रहेको आधार शिविर प्राकृतिक सौन्दर्य, हिमशृङ्खला, जैविक विविधता र साहसिक पदयात्राका लागि आकर्षक गन्तव्य हो। अपी–नाम्पा संरक्षण क्षेत्रअन्तर्गत पर्ने यस क्षेत्रमा पिलकन्द मैदान, उच्च हिमाली पाटन र कालीढुङ्गा ताललगायतका प्राकृतिक आकर्षण रहेका छन्।

गाउँपालिकाले पर्यटन उत्सवमार्फत अपी हिमालको प्राकृतिक तथा सांस्कृतिक पहिचानको प्रचारप्रसार गर्नुका साथै स्थानीय पर्यटन व्यवसाय, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्ने लक्ष्य लिएको छ। यस वर्ष अपी क्षेत्रमा १० हजार पर्यटक भित्र्याउने लक्ष्यसमेत गाउँपालिकाले अघि सारेको छ।

प्रतियोगिताको आयोजनामा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समितिका अध्यक्ष एवं ‘क्रिकेटको सहर धनगढी’ अभियानका सूत्रधार सुवास शाहीले सहकार्य गरेका छन्। उनले अपी हिमालको सुन्दर आधार शिविरमा क्रिकेटमार्फत पर्यटन प्रवर्द्धन गर्ने अभियानमा सहभागी हुन पाउँदा गौरव लागेको बताएका छन्।

शाहीले क्रिकेटलाई खेलकुदमा मात्र सीमित नराखी पर्यटन, आर्थिक विकास र क्षेत्रीय पहिचानसँग जोड्नुपर्नेमा जोड दिएका छन्। धनगढीदेखि अपी हिमालको आधार शिविरसम्म खेलकुदको पहुँच विस्तार गर्दै सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा यस उत्सवलाई लिनुपर्ने उनको भनाइ छ।

त्यस्तै, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले अपी क्षेत्रको पर्यटन विकास, प्रचारप्रसार र स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको बताएका छन्। उच्च हिमाली क्षेत्रमा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताले अपीको पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।

गाउँपालिकाका अनुसार उत्सवको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन संघीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम तय भएको छ। गाउँपालिकाले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले अपी हिमाल बेसक्याम्पमा क्रिकेट खेलिरहेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा साझा गरेपछि यो क्षेत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएको थियो। त्यसपछि अपी हिमालप्रति पर्यटकको आकर्षण बढेको र पर्यटकको आवागमनमा समेत वृद्धि भएको गाउँपालिकाले जनाएको छ।

उच्च हिमाली भूभागमा क्रिकेट आयोजना गरेर खेलकुद र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्ने लक्ष्यसहित हुन लागेको यस प्रतियोगिताले अपी हिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया