काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण हिमालहरू सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
शुक्रबार ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमताल पग्लिने र खानेपानीका मुहान सुक्ने क्रम बढिरहेको बताउनुभयो । उहाँले हिमाल संरक्षणका लागि विश्व समुदायको ध्यान आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको समृद्धिको प्रमुख आधार पर्यटन र हिमाल नै भएको उल्लेख गर्दै मन्त्री पौडेलले राष्ट्रिय स्वाभिमान तथा गरिबी निवारणका लागि हिमाली पर्यटनको दिगो विकास आवश्यक रहेको बताउनुभयो ।
उहाँले सगरमाथा आरोहण केवल भौतिक उपलब्धि मात्र नभई आन्तरिक यात्रा र मानवीय साहसको उच्चतम प्रतीक भएको धारणा व्यक्त गर्नुभयो ।
सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको स्मरण गर्दै मन्त्री पौडेलले हिमाल आरोहणलाई गहिरो साधनाका रूपमा व्याख्या गर्नुभयो ।
उहाँले संसारका सबै धर्ममा तीर्थयात्राको विशेष महत्त्व रहेको उल्लेख गर्दै हिमाल आरोहणलाई पनि एक प्रकारको पवित्र धार्मिक यात्राको संज्ञा दिनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “सगरमाथा चढ्नु भनेको आफ्नै श्वासप्रश्वास बोकेर गरिने एक प्रकारको ध्यान हो । हिमालको सम्मुखमा पुग्दा मानवीय अहंकार गौण हुन्छ र मानिसले आफ्नो क्षमता तथा त्यागको वास्तविक प्रतिविम्ब देख्न पाउँछ । जसरी मानिस आध्यात्मिक शान्तिका लागि मक्का–मदिना वा मुक्तिनाथ पुग्छन्, त्यसरी नै हिमाल आरोहणले मानिसलाई बाह्य संसारबाट आन्तरिक अनुभूतितर्फ लैजान्छ । हिमाल विश्वकै ठुलो खानेपानीको स्रोत र ईश्वरको वासस्थान हो । यसको संरक्षणबिना मानव अस्तित्व सुरक्षित रहन सक्दैन ।” उहाँले नेपाललाई विश्वमा चिनाउने सबैभन्दा सशक्त माध्यम हिमाल नै भएको दाबीसमेत गर्नुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com