info@nawayug.com

तनाव बढेसँगै कच्चा तेल महँगियो, मूल्य १०० डलर नाघ्यो

काठमाडौं । अमेरिका र इरानबीचको द्वन्द्व तथा इरान समर्थित हुथी समूहले साउदी अरबमा गरेको थप आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बुधबार प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

विश्व बजारमा मूल्य निर्धारणको प्रमुख आधार मानिने ब्रेन्ट कच्चा तेलको मूल्य जुलाईको अन्त्ययता पहिलोपटक १०० डलर नाघेको हो ।

त्यसबेला अमेरिका र इरानबीच भएको युद्धविराम भंग भएको थियो ।

अमेरिका र इरानबीच पछिल्लो समय एकअर्कामाथि आक्रमण तीव्र बनेको छ । इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरेपछि त्यसको जवाफमा अमेरिकाले इरानका पाँचवटा तेल ट्यांकरमाथि आक्रमण गरेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार ओमानको खाडीमा रहेका इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्स (आईआरजीसी)सँग सम्बन्धित चारवटा ट्यांकर तथा खार्ग टापुनजिकै रहेको अर्को ट्यांकरलाई अमेरिकी सेनाले निशाना बनाएको हो ।

त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य आधारमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

जोर्डनका अनुसार प्रहार गरिएका २० मध्ये १८ वटा क्षेप्यास्त्र खसालिएको र बाँकी दुईवटा मानिस नबस्ने क्षेत्रमा खसेका थिए ।

इरानको सरकारी सञ्चारमाध्यमले रिभोलुसनरी गार्ड्सले दुई अमेरिकी पानीजहाज, आठ तेल ट्यांकर र स्ट्रेट अफ हर्मुज पार गर्न खोजिरहेका १० वटा ‘आज्ञा नमान्ने’ पानीजहाजमाथि आक्रमण गरेको जनाएको छ ।

यसअघि इरानले अमेरिकी युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाएको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डले उक्त आक्रमण सफलतापूर्वक छलिएको र कुनै पनि अमेरिकी सैनिक घाइते नभएको जनाएको छ ।

अमेरिकाले आफूले निशाना बनाएका पाँचवटा इरानी तेल ट्यांकर आईआरजीसी र उसका क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग गर्ने अर्बौँ डलरको ‘छायाँ सञ्जाल’को हिस्सा रहेको दाबी गरेको छ ।

अमेरिकी सेनाका अनुसार तीमध्ये एमटी रिस्को नामक ट्यांकर ओमानको खाडीमा डुबेको छ ।

होर्मुज जलघाँटीमा बढ्दो तनाव

अमेरिका–इरान युद्ध सुरु हुनुअघि ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब ७० डलर थियो ।

तर युद्ध सुरु भएपछि विश्वको ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्दजस्तै भएको छ ।

विश्वमा खपत हुने करिब २० प्रतिशत कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ओसारपसार हुन्छ ।

त्यसैले यस क्षेत्रमा हुने कुनै पनि थप सैन्य तनावले तेलको मूल्य अझै बढाउन सक्ने चिन्ता बढेको छ ।

बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य केही घटेर प्रतिब्यारेल ९९.९० डलरमा आए पनि मध्यपूर्वमा थप तनाव उत्पन्न भए पुनः बढ्न सक्ने विश्लेषकहरूले बताएका छन् ।

साउदी अरबका तेल तथा ऊर्जा पूर्वाधारमा हुथी आक्रमण

तेलको मूल्यमा दबाब बढाउने अर्को घटना यमनको इरान समर्थित हुथी समूहले मंगलबार साउदी अरबका ऊर्जा केन्द्र तथा नागरिक पूर्वाधारमा गरेको आक्रमण हो ।

साउदी अधिकारीहरूका अनुसार ड्रोन र क्षेप्यास्त्रबाट गरिएको आक्रमणमा ७३ जना घाइते भएका छन् ।

आक्रमणपछि तेल तथा ऊर्जा केन्द्रमा आगलागी भएको र केही समयका लागि सञ्चालनसमेत रोकिएको साउदी सेनाले जनाएको छ ।

अमेरिका–इरानबीचको पछिल्लो आक्रमणबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक पानीजहाजलाई निरन्तर निशाना बनाइरहेको र त्यसको बदलामा अमेरिकाले इरानी तेल ट्यांकरमाथि आक्रमण गर्ने चेतावनी दिएका छन् ।

यसैबीच, अमेरिकाले मंगलबार गरेको आक्रमणभन्दा केही घण्टाअघि इरानी नौसेनाले होर्मुज जलमार्गमा अमेरिकी मानवरहित पनडुब्बी कब्जा गरेको दाबी गरेको थियो ।

तर अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले उक्त मानवरहित पानीमुनिको उपकरण एक दिनभन्दा अघिदेखि नै खराब भएको र क्षेत्रीय पानीको निगरानीका लागि प्रयोग गरिएको बताएका छन् ।

उनका अनुसार उक्त ड्रोन पुरानो मोडेलको थियो, त्यसमा संवेदनशील सूचना संकलन गर्ने क्षमता थिएन र गोप्य सोनार वा राडार उपकरण पनि थिएन । अमेरिकाले भने क्षेत्रीय पानीमा आफ्नो सैन्य गतिविधि जारी राखेको जनाएको छ ।

तेलको मूल्यमा भएको वृद्धिले विश्वभर पेट्रोल तथा डिजेलको मूल्य थप बढ्ने जोखिमसमेत बढाएको छ ।

प्रतिक्रिया