काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् । सभापति गगन थापाले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।
शपथको क्रममा सभापति थापाले पदाधिकारी र केन्द्रीय सदस्यलाई ८ बुँदे प्रतिज्ञा गराएका छन् । प्रतिज्ञापत्रमा पार्टीको विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुने, पार्टीको नीति निर्देशन बमोजिम पार्टीका कार्यक्रम, अभियान तथा गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनेलगायतका विषय समेटिएका छन् ।
हेर्नुस् प्रतिज्ञाका ८ बुँदा-
१.म सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति पूर्ण प्रतिबद्ध रहँदै, देश र जनताको हित चिताई संविधानले तोकेको नागरिक कर्तव्यहरू इमानदारीपूर्वक पालन गर्नेछु।
२.म नेपाली कांग्रेसको विधान, सिद्धान्त र लक्ष्य समृद्ध नेपाल र सम्मानित नेपालीप्रति समर्पित रही पार्टीको लक्ष्य र उद्देश्य पूरा गर्न सक्रिय र कुशलतापूर्वक आफ्नो पदीय जिम्मेवारी पूरा गर्नेछु ।
३.म पार्टीको नीति निर्देशन बमोजिम पार्टीका कार्यक्रम, अभियान तथा गतिविधिहरूमा सक्रियतापूर्वक सहभागी हुनेछु ।
४.म पार्टीको अनुशासन पालना गर्नेछु र सङ्गठनात्मक निर्णयलाई सम्मान र कार्यान्वयन गर्नेछु ।
५.म नेपालको संविधान तथा प्रचलित कानुनले निषेध गरेका कुनै पनि कार्यमा संलग्न हुने छैन र आफ्नो क्षमता अनुसार यस्ता कार्यहरू रोक्न प्रयास गर्नेछु। पार्टी र समाजलाई जोड्दै सामाजिक कार्यमा सक्रिय रहनेछु ।
६.म पार्टीको विधान विपरीत हुने कुनै पनि गतिविधिमा संलग्न हुने छैन र त्यस्ता कार्यहरू विरुद्ध उभिनेछु।
७.म सदैव सत्य निष्ठा, जिम्मेवारी र लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध रहनेछु।
८.म पार्टी, समाज र राष्ट्रको हितमा इमानदारीपूर्वक काम गर्नेछु।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com