एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीले लाल सागर (रेड सी)को तटीय क्षेत्रमा रहेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा १४ सैनिक मारिएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारसँग निकट सैन्य अधिकारीले आइतबार घटनाको पुष्टि गरेका छन् ।
सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेय्स जिल्लामा शनिबार बिहानको समयमा ‘केही घण्टासम्म चलेको झडप’ पछि आक्रमणलाई साम्य पार्न सफल भएको त्यहाँको प्रशासनले जनाएको छ । विरोधी पक्षमा कति मारिए भन्ने सङ्ख्या नखुलाइकन लडाईमा हुथी समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीले बताएका छन् ।
हुथी विद्रोही सन् २०१५ देखि सरकारसँग युद्धमा छन् । यो द्वन्द्वले लाखौँ मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय सङ्कट निम्त्याएको छ । विद्रोहीले यमनको राजधानी सानालगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको होडैडा नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ ।
दुवै पक्षबिचको लडाई सन् २०२२ मा संयुक्त राष्ट्रसङ्घले मध्यस्थता गरेको युद्धविरामपछि ठूलो रूपमा रोकिएको थियो । शुक्रबार हुथी विद्रोहीले एक्कासी साउदी अरबका विमानस्थल र महत्वपूर्ण सम्पतिलाई लक्षित गर्ने चेतावनी दिएका थिए । साउदी अरब यमनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सरकारको प्रमुख समर्थक हो । सन् २०१५ पछि हुथी समूहले सानालगायत देशको ठूलो भाग कब्जा गरी सत्ता कब्जा गर्न थालेपछि साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले यमनमा हुथीविरुद्धको लडाइँमा सहयोग पुर्याएको थियो ।
इरानको ‘प्रतिरोधको एकाइ’ को भाग मानिने यो विद्रोही समूह इजराइल र अमेरिकाविरुद्ध इरानको पक्षमा छ । उनीहरूले साउदी अरबले एउटा इरानी विमान अवतरण गर्न रोक्न खोजेको आरोप लगाएका छन् । रासस
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com