info@nawayug.com

टोरन्टो कसरी बन्यो विश्वकै एआई हब? यस्ता छन् मुख्य कारण

क्यानडा । विश्वको प्रविधि उद्योगको केन्द्र भन्नासाथ सामान्यतः अमेरिकाको सिलिकन भ्यालीलाई बुझ्ने गरिन्छ । तर एआईको क्षेत्रमा पछिल्ला वर्षहरूमा एउटा अर्को सहर तीव्र गतिमा विश्वस्तरीय केन्द्रका रूपमा उदाइरहेको छ । त्यो सहर हो, क्यानडाको टोरन्टो ।

टोरन्टोमा गुगल, एनभिडिया, मेटा र माइक्रोसफ्टजस्ता विश्वका ठूला प्रविधि कम्पनीले कार्यालय तथा अनुसन्धान प्रयोगशाला स्थापना गरेका छन् । एआईमा आधारित स्टार्टअपहरूको संख्या पनि बढिरहेको छ । स्थानीय प्रतिभा, विश्वविद्यालय, अनुसन्धान संस्था, आप्रवासीमैत्री नीति र अपेक्षाकृत विविध सामाजिक वातावरणले टोरन्टोलाई एआई विकासको महत्त्वपूर्ण केन्द्र बनाएको हो ।

टोरन्टोको एआई यात्राको उल्लेख्य फड्कोमा भने नोबेल पुरस्कार विजेता कम्प्युटर वैज्ञानिक जेफ्री हिन्टनको योगदान छ । सन् १९८० को दशकमा उनले अमेरिकाको कार्नेगी मेलोन विश्वविद्यालयमा रहेको सुविधा सम्पन्न पद छाडेर टोरन्टो विश्वविद्यालयमा त्यतिबेला कमै अध्ययन भइरहेको मेसिन लर्निङ अनुसन्धान रोजेका थिए । चार दशकपछि त्यही अनुसन्धान आधुनिक एआई प्रणालीको विकासका लागि महत्त्वपूर्ण आधारमध्ये एक बनेको छ ।

हिन्टनले टोरन्टोमा अनुसन्धानको वातावरण तयार गर्न मात्र योगदान गरेनन्, उनले नयाँ पुस्ताका अनुसन्धानकर्ता र उद्यमी पनि तयार गरे । उनका विद्यार्थीहरू पछि एआई उद्योगका प्रभावशाली व्यक्तिका रूपमा स्थापित भए । यही प्रक्रियाले टोरन्टोमा विश्वविद्यालय, अनुसन्धान संस्था, ठूला प्रविधि कम्पनी र स्टार्टअपबीच एउटा बलियो एआई ‘इकोसिस्टम’ निर्माण गर्न सहयोग गरेको छ ।

अमेरिकी व्यावसायिक रियल–इस्टेट कम्पनी ‘सिबिआरई’को वार्षिक विश्लेषणअनुसार टोरन्टो अहिले विश्वकै तेस्रो उत्कृष्ट ‘प्रविधि–प्रतिभा’को केन्द्र बनेको छ । प्रविधि–प्रतिभा तथा विज्ञको उपलब्धताका हिसाबले यो न्युयोर्कभन्दा अगाडि तथा सान फ्रान्सिस्को र सियाटलभन्दा पछाडि छ । टोरन्टो विश्वविद्यालय र हिन्टनले सह–स्थापना गरेको भेक्टर इन्स्टिच्युटजस्ता संस्थाले यसका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

ठूलो लगानी र नयाँ कम्पनी

टोरन्टोको एआई क्षमता अब प्रविधि कम्पनीमा मात्र सीमित छैन । औषधि कम्पनी सानोफीले सन् २०२६ मा टोरन्टोस्थित एआई सेन्टर अफ एक्सिलेन्स विस्तार गर्न करिब ३० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यसले स्वास्थ्य र औषधि अनुसन्धानमा समेत एआईको प्रयोग बढिरहेको देखाउँछ ।

टोरन्टोबाट विकसित भएको अर्को महत्त्वपूर्ण उदाहरण कोहेरे हो । कम्पनीका सहसंस्थापक निक फ्रस्ट हिन्टनका विद्यार्थी थिए र पछि टोरन्टोस्थित हिन्टनको गुगल एआई प्रयोगशालामा काम गरे । उनले पछि कोहेरे स्थापना गरे, जुन करिब ७ अर्ब डलर मूल्याङ्कन भएको एआई कम्पनीका रूपमा विकसित भएको छ ।

फ्रस्टका लागि कम्पनी स्थापना गर्न सिलिकन भ्याली जानुपर्ने बाध्यता थिएन । उनका अनुसार टोरन्टोमा प्रविधिसँगै कला, शिक्षा, अनुसन्धान र व्यवसायको बलियो समुदाय छ । यही विविध वातावरणले नयाँ विचार र व्यवसायका लागि राम्रो आधार बनाएको उनको धारणा छ ।

आप्रवासनले दिएको फाइदा

टोरन्टोको एआई सफलताको अर्को महत्त्वपूर्ण आधार क्यानडाको आप्रवासन नीति हो । प्रविधि उद्योगले विश्वभरका दक्ष जनशक्तिमा निर्भर रहने भएकाले आप्रवासीमैत्री वातावरणले टोरन्टोलाई प्रतिभा आकर्षित गर्न मद्दत गरेको छ । हिन्टनका अनुसार अमेरिकाको तुलनामा क्यानडा आप्रवासनका लागि बढी खुला रहेको छ ।

एआई कम्पनी सेन्टएमएलका पूर्व प्रमुख गेन्नाडी पेखिमेन्कोले अमेरिकामा एच–१बी भिसा नवीकरण गर्न नसकेका एक अमेजन इन्जिनियरलाई क्यानडामा काम गर्ने अनुमति मिलेको उदाहरण दिएका छन् । यस्तो अवस्थाले अमेरिकी प्रविधि उद्योगबाट दक्ष जनशक्ति क्यानडातर्फ आकर्षित हुने सम्भावना बढाउँछ ।

त्यसैगरी, टोरन्टोको बहुसांस्कृतिक वातावरण र अन्तर्राष्ट्रिय खानाको विविधतासमेत विदेशी प्रतिभा आकर्षित गर्ने माध्यम बनेको स्थानीय उद्यमीहरूको भनाइ छ । न्युयोर्क, वासिङ्टन डीसी र सिकागोजस्ता ठूला अमेरिकी बजारसँगको भौगोलिक निकटताले पनि व्यापार विस्तारमा फाइदा पुर्‍याउँछ ।

सिलिकन भ्यालीभन्दा फरक वातावरण

सान फ्रान्सिस्को अझै पनि विश्वको प्रमुख प्रविधि केन्द्र हो र टोरन्टोभन्दा त्यहाँ करिब २० प्रतिशत बढी प्रविधि कामदार छन् । तर टोरन्टोका एआई उद्यमीहरू सिलिकन भ्यालीभन्दा बाहिर हुनु नै आफ्नो फाइदा भएको बताउँछन् ।

टोरन्टोमा घरको मूल्य तुलनात्मक रूपमा कम, सार्वजनिक स्वास्थ्य सेवा र राम्रो सार्वजनिक विद्यालय उपलब्ध भएकाले जीवनयापन खर्च पनि केही कम हुने स्थानीय उद्यमीहरूको भनाइ छ । यसले कम्पनीहरूलाई तुलनात्मक रूपमा कम लागतमा दक्ष जनशक्ति प्राप्त गर्न सहयोग पुर्‍याउन सक्छ ।

कोहेरेका फ्रस्टका अनुसार टोरन्टोमा प्रविधि क्षेत्र मात्र हाबी छैन । यहाँ विभिन्न क्षेत्र र विचारका मानिसको सहअस्तित्वले नयाँ सोचलाई प्रोत्साहन गर्छ । सिलिकन भ्यालीमा एआईप्रति अत्यधिक उत्साह र प्रतिस्पर्धा देखिने भए पनि टोरन्टोमा फरक मत राखेर पनि छलफल गर्न सकिने वातावरण रहेको उनको भनाइ छ ।

क्यानडाको एआई महत्वाकांक्षा

टोरन्टोको विकासलाई क्यानडा सरकारले पनि राष्ट्रिय रणनीतिसँग जोडेको छ । प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको सरकारले एआई अनुसन्धान, शिक्षा, प्रविधिको प्रयोग विस्तार र सुरक्षा मापदण्डका लागि २ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गर्ने राष्ट्रिय एआई रणनीति अघि सारेको छ ।

क्यानडाको डिजिटल क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा १४० अर्ब डलरभन्दा बढी योगदान गरिरहेको सरकारी तथ्यांक छ । एआईको विकासले रोजगारीमा असर पार्ने सम्भावनाबीच यसबाट सिर्जित आर्थिक लाभ क्यानडाभित्रै राखेर करमार्फत प्रभावित श्रमिकलाई सहयोग गर्नुपर्ने हिन्टनको धारणा छ ।

विश्वका कम्पनी र सरकारहरू उन्नत प्रविधिका लागि अमेरिकामाथिको निर्भरता घटाउँदै विविध स्रोत खोजिरहेका बेला क्यानडाका एआई कम्पनीले थप अवसर पाउन सक्ने देखिन्छ । कोहेरेले अमेरिकी नीतिगत परिवर्तनपछि नयाँ ग्राहकको चासो बढेको जनाएको छ ।

यसैबीच टोरन्टोमा स्थापना भएको स्वचालित ट्रक कम्पनी वाबीले यसै वर्ष १ अर्ब डलरभन्दा बढीको लगानी जुटाएको छ, जुन क्यानडाको इतिहासकै ठूलो सिरिज–सी लगानी भएको बताइएको छ ।

यसरी विश्वविद्यालय र अनुसन्धानबाट सुरु भएको टोरन्टोको एआई यात्रा अहिले विश्वव्यापी प्रविधि उद्योगको महत्त्वपूर्ण केन्द्रमा परिणत भएको छ । सिलिकन भ्यालीको विकल्प खोजिरहेको विश्व प्रविधि बजारमा प्रतिभा, अनुसन्धान, आप्रवासन र विविधतामा आधारित टोरन्टो मोडल क्यानडाका लागि मात्र होइन, विश्वकै एआई प्रतिस्पर्धामा महत्त्वपूर्ण बन्न थालेको छ ।

प्रतिक्रिया