info@nawayug.com

विपद्मा राजनीतिक दलको भूमिका : उद्धारदेखि राहत वितरणसम्म के गर्दैछन्?

काठमाडौँ। चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशी र त्रिशुलीमा आएको विनाशकारी बाढी ९विपद्०पछि सिङ्गो देश शोकमा डुबेको छ । अनपेक्षित र कहालीलाग्दो विपदबाट उठ्न सरकार र सरकारी संयन्त्रका साथै मुलुकका प्रमुख राजनीतिक दल, विभिन्न संघ संगठन र सहयोगी मनहरू रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका क्षेत्रका प्रभावित बासिन्दाको घाउँमा मलम लगाउने प्रयत्नमा सक्रिय छन् ।

खोज, उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकता दिएका कतिपय राजनीतिक पार्टीहरूले जिम्मेवारी नै तोकेर नेता–कार्यकर्तासहितको जनशक्ति फिल्डमा काम गरिरहेको बताएका छन् ।

एमालेले कहाँ–कहाँ कसरी गर्दैछ काम ?

नेकपा एमालेले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरी जनसंगठनका मात्रै ५ सय स्वयंसेवक परिचालन गरेको दाबी गरेको छ ।

पहिलो चरणमा प्रभावित क्षेत्रका नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यलाई तीव्रता दिन १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको एमालेले पीडितहरूलाई प्रत्यक्ष भेटेर सहयोगको काम गरिरहेको छ ।

पार्टी सचिव तथा बागमती प्रदेश ईन्चार्ज महेश बस्नेतको संयोजकत्वमा गठन भएको सहयोग समितिले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका बाढी पीडितहरूलाई आवश्यक सहयोग गर्न नेता–कार्यकर्तालाई फिल्डमै खटाएको प्रवक्ता निरज आचार्यले जानकारी दिए ।

बाढीपछि एमाले अध्यक्ष केपी ओली आफैँ धादिङ र नुवाकोट पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रभावित नागरिकहरूसँग त्यहाँको आवश्यकताबारे जानकारी लिएर काठमाडौँ फर्केका छन् । एमालेले विपदमा सङ्घीय सरकारसँग समन्वय गर्न पार्टी सचिव डा. राजन भट्टराईलाई जिम्मेवारी दिएको छ।

प्रवक्ता आचार्यका अनुसार पार्टीबाट खटिएको टोली प्रभावित जिल्लामा पुगेर भग्नावशेष हटाउने, हिलो सफा गर्ने र सँगसँगै राहत सङ्कलन र वितरणको काम गरिरहेको छ ।

‘विद्यार्थी संगठन स्कुलहरूमा केन्द्रित छ । धादिङको काम सकेर अव रसुवा जाँदैछ’, आचार्यले भने, ‘जिफन्टबाट अध्यक्ष विनोद श्रेष्ठको टोली रसुवा र धादिङ केन्द्रित भएर भग्नावशेष हटाउने र व्यक्तिका निजी घरहरू सफा गर्ने काम गरिरहेको छ ।’

नेता आचार्यका अनुसार युवा संघ पनि रसुवामै केन्द्रित रहेर उद्धारसँगै राहत वितरणको काममा केन्द्रित छ । नुवाकोटमा रुपनारायण श्रेष्ठले संयोजन गरेर भूतपूर्व सैनिक संगठन, खेलकुद महासंघ र भोलेन्टियर्स फोर्सले काम गरिरहेको छ । धादिङमा रमेश आचार्य नेतृत्वमा रिटर्नी फेडेरेसन, अनेमसंघ र सम्पर्क मञ्चको टोली केन्द्रित भएर राहत र उद्धारको काम गरिरहेको छ ।

‘एमालेको झन्डै १ हजार जति जनशक्ति फिल्डमा छ । फिल्डमा भएको आवश्यकता के–के हो भनेर पहिचान गर्दै पहिलो चरणमा म्याट्रेस, ट्रावेल, कम्मल, खाद्यान्न पुर्‍याइसकेका छौँ’, आचार्यले भने, ‘दोस्रो चरणमा फिल्डमा पीडितहरूको आवश्यकता अनुसार राहत सामग्री पठाउँछौँ ।’

केन्द्रदेखि स्थानीय तहसम्मै नेकपाको टोली सक्रिय

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाढीपछि सरकारसँगको समन्वयमा खोज, उद्धार तथा राहतको कामलाई तीव्रता दिएको नेता प्रकाश ज्वालाले जानकारी दिए ।

‘सरकारसँगको समन्वयमा पहिलो चरणमा हामीले खोज, उद्धार र राहतको काम गरेका छौँ’, प्रवक्ता ज्वालाले भने, ‘खोजी, उद्धार र राहतको काम सकिएपछि पुनर्स्थापनको काममा केन्द्रित हुनुपर्छ भनेर सरकारको समेत ध्यानाकर्षण गराइरहेका छौँ ।’

नेकपाले पार्टीका तर्फबाट विपदमा समग्र समन्वय र जनशक्ति परिचालन गर्न लागि नेता डा. गंगालाल तुलाधरको नेतृत्वमा ‘खोज, उद्धार र राहत परिचालन समन्वय समिति’ नै बनाएर काम गरिरहेको जनाएको छ ।

‘केन्द्रबाहेक जिल्ला र पालिकामा पनि समन्वय समिति बनाएर प्रभावित सबै जिल्लामा योजनावद्ध ढङ्गले जनशक्ति परिचालन गरिएको छ’, प्रवक्ता ज्वालाले भने, ‘यद्यपि विपदमा हामीले आफ्नो पार्टीको पहिचान दिनेगरी नभई स्वयंसेवी शैलीमा काम गरेका छौँ ।’

त्यस्तै जनवर्गीय संगठन युवा, विद्यार्थी, महिला उद्धारमा सहयोग गर्ने र राहत सङ्कलन तथा वितरण गर्न केन्द्रित भएको नेकपाले जनाएको छ । त्यस्तै केन्द्रीय कार्यालयमा विपद् व्यवस्थापन डेस्क नै स्थापना गरेर सबैसँग को–अर्डिनेसन गर्ने काम गरिरहेको प्रवक्ता ज्वालाको भनाइ छ । ‘जसले राहत सङ्कलनदेखि सूचना सङ्कलनको काम गरिरहेको छ । अहिलेसम्म भएका कामबारे रिभ्यु गर्न आइतबार बेलुका केन्द्रीय कार्यसंयोजन समिति बस्दैछ’, उनले भने ।

नेकपाको जनवर्गीय संगठन वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीका अनुसार जिल्ला प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी बेपत्ताको खोजी, घाइतेको उद्धार तथा उपचार र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा वाईसीएल परिचालन भएको छ । ओलीका अनुसार वाईसीएलकामात्र करिब ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा परिचालन छन् । ‘प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउने र प्रभावित परिवारको गास, बास तथा अन्य आवश्यकतामा सहयोग गर्ने काम भइरहेको छ’ अध्यक्ष ओलीको भनाइ छ ।

बाढी प्रभावितका लागि के गर्दैछ कांग्रेस ?

बाढीपछि नेपाली कांग्रेसले भ्रातृ संघ संगठन तरुण दल, नेपाली विद्यार्थी संघ र ट्रेड युनियनलाई प्रभावित क्षेत्रमा पठाएर सरसफाई र राहत वितरणको कामलाई प्राथमिकता दिएको जनाएको छ । त्यसबाहेक सभापति गगन कुमार थापा आफैँ विज्ञसहित नुवाकोट र रसुवा पुगेर पीडित परिवार तथा प्रभावित क्षेत्रमा तत्काल र दीर्घकालमा गर्नुपर्ने कामको बारेमा जानकारी लिएका छन् ।

त्यस्तै स्थानीय नेताबाहेक डा. प्रकाशशरण महत र अन्य नेताहरू समेत फिल्डमा पुगेर त्यहाँको आवश्यकताका बारेमा सोधखोज गरिरहेका छन् ।

नेपाली कांग्रेस विपद् व्यवस्थापन विज्ञ मनबहादुर थापाका अनुसार कांग्रेसका तर्फबाट झन्डै ५ सय जनशक्ति नुवाकोट र रसुवामा पुगेर सरसफाईसहित राहत प्रदान गर्ने काममा जुटेको छ । थापाका अनुसार नुवाकोटमा कांग्रेसको अगुवाइमा मनोपरामर्शसहित स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै धादिङ र रसुवा जिल्लाका प्रभावित स्थानमा सरसफाई, खानेपानीको मर्मत, शौचालय निर्माणसहित राहत सामग्री वितरणको काम भइरहेको छ । ‘बिजुली अभाव भएको रसुवामा सोलार प्यानल र सोलारबाट चल्ने वत्तीहरू वितरण गरिएको छ भने प्रभावितहरूलाई खाना पकाउने र खाने भाँडाहरू वितरण गरिएको छ’, थापाको भनाइ छ ।

सरकारको समन्वयमा रास्वपा

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा बाढीपछि पार्टीको सम्पूर्ण शक्ति उद्धार र राहतमा केन्द्रित गरेको छ ।

सरकार र स्थानीय तहहरूसँगको समन्वयमा उद्धार र राहतका लागि सम्पूर्ण पार्टी संयन्त्र परिचालन गरेको रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए । रास्वपाले बाढी पीडितहरूको उद्धार तथा राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।

बाढी गएपछि हामीले पार्टीका सम्पूर्ण राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अनिश्चितकालका लागि स्थगित गरी सबै शक्ति विपद् व्यवस्थापनमा केन्द्रित गरेको नेता पराजुलीको भनाइ छ ।

‘राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउन एकद्वार प्रणालीबाट मात्र सहयोग गर्ने पार्टीको नीति अनुसार रास्वपाले विपद् व्यवस्थापनका लागि केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी समिति, सदस्य र शुभचिन्तकहरूलाई समेत स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा उद्धार र राहतमा खटाएको छ’, पराजुलीको भनाइ छ ।

पार्टीबाट अलग्गै नभई सरकारले परिचालन गरेका खोज, राहत र उद्धार लगायतका सेवाका प्रक्रियालाई सहजीकरण गर्न रास्वपा लागि परेको रास्वपाको भनाइ छ ।

‘देशभरिबाट आएको राहत सामग्रीको सहजीकरण गर्ने कामका साथै सरकारले राखेका होल्डिङ सेन्टरहरूमा पुर्‍याउने, प्याकिङ गर्ने र मागअनुसार लगिदिने काम भएको छ’, पराजुली भन्छन्, ‘प्रभावित पालिकाका जनप्रतिनिधिको समन्वयमा काम गरेका छौँ ।’

सडक सञ्जाल भएका ठाउँमा सहजै राहत सामग्री पुगेको भन्दै कतिपय स्थानमा हेलिकोप्टरबाट पुर्‍याउने काम भएको बताए । ‘बाढीले कतिपय मानिसको सबै कुरा बगाएको छ । कतिपयको शरीरमा लगाउने लुगासमेत छैन’, पराजुलीले भने, ‘पीडित कतिपयलाई न्यूनतम बाँच्नका लागि सबै कुरा आवश्यक देखिन्छ ।’ उनले तत्काल खाद्यान्न, लत्ताकपडा, त्रिपाल, औषधि, खानेपानी लगायतको व्यवस्था भइरहेको भन्दै अब विस्तारै पुनर्बासको काममा लाग्नुपर्ने अवस्था रहेको बताए ।

‘तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका लागि सम्बन्धित मन्त्रालयहरूसँगको समन्वय गर्ने काम भइरहेको छ’, उनले भने, ‘कनेक्टीभिटीमा धेरै काम गर्नुपर्ने अवस्था छ ।’ अहिले उद्धारअन्तर्गत ज्यान बचाउने र सुरक्षित ठाउँमा राख्ने र साथसाथै कनेक्टिभिटीको काम अघि बढाएर त्यसपछि सुरक्षित आवासका लागि सरकारले गर्ने काममा समन्वय गर्ने रास्वपाले जनाएको छ ।

ठुला दलमात्र होइन, बाढीपछि श्रम संस्कृति, राप्रपा, प्रलोपा, जसपा नेपाललगायतका राजनीतिक पार्टीले पनि बाढी प्रभावितका लागि आ–आफ्नो स्थानबाट आर्थिक र भौतिक सहयोगको काम गरिरहेको जनाएका छन् ।

भदौ १० गते आएको बाढीबाट आइतबार दिउँसो सम्म एक हजार ३४१ जनाको शव भेटिएको छ भने ४ हजार ९९६ जना बेपत्ताको तथ्याङ्क रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । विपदपछि सरकारले प्रभावित जिल्लामा २१ हजार बढी सुरक्षाकर्मी परिचालन गरेर १३ हजार १०४ जनाको उद्धार गरेको दाबी गरेको छ।

प्रतिक्रिया