मुम्बई । बलिउडका सुपरस्टार सलमान खान अचानक अनुहार चाउरी परेको अवस्थामा देखिएपछि सामाजिक सञ्जालमा व्यापक ट्रोल भइरहेका छन् ।
पछिल्लो समय सार्वजनिक तस्विर भिडिओहरुमा उनलाई बुढो भएको भन्दै हँसिमजाक भइरहेको छ । यसबाट वाक्क भएर सलमानले ट्रोलरहरुलाई जवाफ दिन टेलिभिजन कार्यक्रमै लुगा फुकालेका छन् ।
आफूले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘बिग बोस’का दौरान उनले यस्तो हर्कत गरेका हुन् ।
शोको ‘विकेन्ड का वार’ एपिसोडका क्रममा उनले क्यामराको अगाडि नै आफ्नो टोपी, ज्याकेट, टिसर्ट फुकाले । अनुहारको मेकअप समेत पुछेर आफ्नो वास्तविक रूप प्रदर्शन गरे ।
यो घटना बिग बोसको घरभित्र भइरहेको एउटा विवादको सन्दर्भबाट सुरु भएको थियो । प्रतियोगीहरू स्काउटओपी र अरिस्फा खानबीच तीव्र विवाद चलिरहेको थियो ।
यसै क्रममा स्काउटओपीले आफ्नो गेमिङ समुदायलाई आफूले गल्ती गरेमा ट्रोल गर्न आग्रह गरेको प्रसङ्ग उठ्यो ।
यस कुराले सलमान खान निकै आक्रोशित बने । उनले ट्रोलिङलाई हल्का रूपमा लिने प्रवृत्तिको कडा आलोचना गर्दै सेलिब्रेटीहरूले भोग्नुपर्ने मानसिक तनावको कुरा उठाए ।
आफ्नो तौल, बढ्दो उमेर (६० वर्ष) र लुक्सलाई लिएर सामाजिक सञ्जालमा हुने आलोचनाको जवाफ दिँदै सलमानले अन-स्क्रिन नै लुगा फुकाल्न सुरु गरे । उनले क्यामराम्यानलाई क्लोज–अप सट लिन आदेश दिए र आक्रोशित हुँदै भनेः
‘उनीहरू मलाई ‘भाइ मोटो भयो’ भन्दै ट्रोल गर्छन् । लौ, अब मलाई ट्रोल गर । मेरो कुनै सिक्स-प्याक एब्स छैन । तिमीहरूलाई ट्रोल गर्न मन पर्छ नि, हेर र क्लोज–अप सट लेऊ । हामीलाई ट्रोल गर्नुभन्दा पहिले ऐनामा आफ्नो अनुहार हेर, आफ्ना आमाबुवा र आफ्नो स्वास्थ्यको ख्याल राख ।’
उनले थपे कि उनी च्यातिएको जुत्ता लगाउन पनि हिचकिचाउँदैनन् र अर्को पटक त्यही लगाएर आउनेछन् । कपडा दोहोर्याउँदा वा तौल तलमाथि हुँदा गाली गलौजमा उत्रिने मानसिकता निकै तल्लो स्तरको भएको उनको भनाइ थियो ।
सलमानको आक्रोश केवल आफ्ना लागि मात्र थिएन । उनले विशेष गरी महिला सेलिब्रेटीहरूले भोग्नुपर्ने ‘बडी शेमिङ’ शारीरिक बनावटको आलोचना०को कडा विरोध गरे ।
गर्भावस्थापछिको तौल वृद्धिलाई लिएर सामाजिक सञ्जालमा महिलाहरूलाई गरिने भद्दा टिप्पणीको उनले निन्दा गरे ।
इन्टरनेट प्रयोगकर्ताहरूका अनुसार सलमानको यो टिप्पणी हालै सामाजिक सञ्जालमा व्यापक ट्रोलिङको शिकार भएकी अभिनेत्री कट्रिना कैफको बचाउमा लक्षित थियो । सलमानले भने,‘गर्भावस्थापछि जोसुकैको पनि तौल बढ्छ, उनीहरू आफ्नो परिवारसँग समय बिताउन चाहन्छन् । जब उनीहरू काममा फर्किनेछन्, फेरि फिट देखिनेछन् । यसमा ट्रोल गर्नुपर्ने के कुरा छ ?’
सलमानले सामाजिक सञ्जालमा भइरहेको नकारात्मकताका कारण कतिपय कलाकारहरू डिप्रेसन (मानसिक तनाव) मा जाने र आत्महत्यासम्मका घटना हुने गरेको वास्तविकता औंल्याए । ट्रोल गर्नेहरूको भाषाले उनीहरूको पारिवारिक संस्कार र हुर्काइ कस्तो छ भन्ने कुरा देखाउने उनले बताए ।
यसै क्रममा उनले करिब ८–१० वर्ष पुरानो एउटा घटना पनि सेयर गरे । उनले सामाजिक सञ्जालमा निकै फोहोर कुरा लेख्ने एउटा ट्रोलरलाई आफ्नो फ्यान क्लबको मद्दतले ट्र्याक गरेर सिधै उसको घरमै पुगेको खुलासा गरे ।
उनले भने, ‘म उसको घर पुग्दा उसका आमाबुवा शिक्षक थिए र बहिनी राम्रो स्कूलमा पढ्थिन् । मैले उसको पहिचान संसारसामु ल्याइदिउँ भन्दा उसले माफी माग्यो । हामी चाहेमा सजिलै यसो गर्न सक्छौँ ।’
उनले चेतावनी दिँदै भने कि हाल सिनेमा र टिभीमा सेन्सरसिप भए जस्तै चाँडै सामाजिक सञ्जालमा पनि ट्रोलिङविरुद्ध कडा कानुन आउनेछ र त्यसपछि यस्ता तत्वहरू कतै लुक्न पाउने छैनन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com