काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना तथा खेलकुद पूर्वाधार विकासका लागि भारतले सहयोग गर्ने सहमति भएको छ ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको द्विपक्षीय सहकार्यसम्बन्धी विवरणअनुसार नेपालको खेलकुद क्षेत्रको विकास र सम्बन्धित पूर्वाधार निर्माणलाई सुदृढ बनाउन दुवै देश मिलेर काम गर्ने भएका हुन् ।
सहमतिअनुसार भारतले नेपालमा राष्ट्रिय स्तरको क्रिकेट कोचिङ तथा प्रशिक्षण एकेडेमी स्थापना गर्न र राष्ट्रिय तथा प्रादेशिक स्तरमा क्रिकेट पूर्वाधार विकास गर्न सहयोग पुर्याउनेछ ।
सहमतिबमोजिम नेपालका प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिम लिने अवसर प्रदान गरिनेछ ।
क्रिकेटका अतिरिक्त ब्याडमिन्टन, टेनिस, सुटिङ र एथ्लेटिक्सलगायत अन्य खेलमा पनि यस्तै प्रशिक्षण अवसर तथा नेपालमा आधुनिक बहुखेलकुद केन्द्र (मल्टी–स्पोर्ट्स सेन्टर) विकासका सम्भावना खोजिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पर्वतीय खेलकुद को क्षेत्रमा संयुक्त आरोहण (एक्सपिडिसन) सञ्चालन गर्नेलगायत सहकार्यका सम्भावनाखोजिने भएको छ ।यसैगरी, क्रिकेट, फुटबललगायत विभिन्न खेलका लिगमा नेपाल र भारतका खेलाडीलाई एक–अर्काको देशमा सहभागी गराउने अवसर सिर्जना गर्न दुवै देशका सम्बन्धित खेलकुद निकाय तथा अधिकारीलाई प्रोत्साहित गर्ने सहमति समेत भएको मन्त्रालयले उल्लेख गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com