मकवानपुर । हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत हेटौंडादेखि राप्ती पुल हुँदै लोथरसम्मको सडक तत्काल मर्मत गर्न माग गर्दै नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं. १९ समितिले सडक डिभिजन कार्यालय हेटौंडालाई पत्र बुझाएको छ। समितिले सात दिनभित्र मर्मत कार्य सुरु गर्न आग्रह गर्दै अन्यथाआन्दोलन गर्ने चेतावनी दिएको छ।
वडा नं. १९ का सभापति सुरज बर्तौलाको नेतृत्वमा कार्यालयमा पत्र बुझाइएको हो। सडकको अवस्था पछिल्लो समय दयनीय र जोखिमपूर्ण बन्दै गएको भन्दै समितिले तत्काल मर्मतको माग गरेको छ।
सडकका विभिन्न स्थानमा ठूला खाल्डाखुल्डी परेको, किनार भत्किएर गहिरो खाल्टो बनेको र ठाउँठाउँमा सडकको सतह उखेलिएको सभापति बर्तौलाले बताए। उनका अनुसार सडकको अवस्थाका कारण सवारी सञ्चालनमा गम्भीर कठिनाइ भइरहेको छ।
दैनिकजसो मोटरसाइकल तथा अन्य सवारीसाधन दुर्घटनामा परिरहेको समितिको दाबी छ। सवारीसाधनमा क्षति पुग्ने, यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने तथा सर्वसाधारण काम, रोजगारी, व्यवसाय र गन्तव्यमा समयमै पुग्न नसक्ने अवस्था बनेको समितिले जनाएको छ। यसले आम नागरिकको समय, आर्थिक अवस्था र सुरक्षामा असर पारेको पत्रमा उल्लेख छ।
सम्बन्धित निकायलाई पटकपटक मौखिक रूपमा जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि लिखित पत्र बुझाइएको समितिले जनाएको छ। नागरिकको सुरक्षा, सहज आवागमन र सार्वजनिक सरोकारलाई ध्यानमा राख्दै सात दिनभित्र मर्मत कार्य नियमित र व्यवस्थित रूपमा अघि बढाउन समितिले आग्रह गरेको छ।
तोकिएको अवधिभित्र मर्मत सुरु नभए आम नागरिक, यात्रु र सरोकारवालालाई एकजुट गरी सडकमै शान्तिपूर्ण जनदबाबमूलक आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने समितिले चेतावनी दिएको छ। त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने पनि पत्रमा उल्लेख छ।
‘हामी समाधान चाहन्छौं, हामी शान्ति र नागरिकका सामान्य सुविधामा सहज होस् भनी हातेमालो गर्न चाहन्छौं, नकि विवाद, अवरोध र आन्दोलन,’ पत्रमा भनिएको छ।
समितिले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर आवश्यक बजेट, जनशक्ति र प्राविधिक व्यवस्थापनसहित मर्मत कार्य अघि बढाउन पुनः आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com