info@nawayug.com

जलवायु परिवर्तनबाट मधेसमा भएको क्षतिको अन्तर्राष्ट्रिय क्षतिपूर्ति माग्नुपर्ने यादवको धारणा

जनकपुरधाम। नेपालले अन्तर्राष्ट्रिय समुदायसँग अब राहत मात्र नभई जलवायु परिवर्तनका कारण भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने धारणा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले व्यक्त गरेका छन्। 

रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको सक्रियतामा संकलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा मङ्गलबार बोल्दै उनले यस्तो बताएका हुन्।

जलवायु परिवर्तनमा ठूलो योगदान गर्ने विकसित मुलुकका कारण नेपाल जस्ता राष्ट्रहरूले प्राकृतिक विपत्तिको मार खेप्नु परेको दाबी उनले गरे। चीन, भारत र अमेरिका जस्ता मुलुकले गर्ने ठूलो मात्राको कार्बन उत्सर्जनको असर नेपालले बाढी, पहिरो तथा हिमताल पग्लिने विपत्तिका रूपमा भोगिरहेको उनले बताए। नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने र यसका लागि सङ्घीय सरकारले समेत विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए। जलवायु परिवर्तनबाट नेपालले व्यहोरेको क्षतिको उचित क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग गम्भीर छलफल आवश्यक रहेको धारणा उनले राखे।

भोटेकोशीमा बाढी आएकै दिन प्रदेश सरकारले राहत उपलब्ध गराउने प्रारम्भिक निर्णय गरेको जानकारी मुख्यमन्त्री यादवले दिए। प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उनले बताए। दोस्रो चरणमा करिब दुई करोड रुपैयाँ बराबरको टेन्ट तथा कम्बल बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ। तेस्रो चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री पठाउने योजना प्रदेश सरकारले बनाएको छ। यसअघि मधेस प्रदेश सरकारले भोटेकोशी तथा त्रिशूली क्षेत्रका बाढी प्रभावितका लागि करिब एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरिसकेको छ।

बाढी प्रभावित परिवारका लागि जनकपुरधाम उद्योग वाणिज्य संघले खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, कम्बल र भाँडाकुँडा लगायतका सामग्री संकलन गरेको छ। संकलित सामग्रीमा ७५ बोरा चामल, २१ बोरा सोयाबिनका साथै दाल, नुन, चिउरा, मुरही र चाउचाउ रहेका छन्। त्यसैगरी विभिन्न प्रकारका लत्ताकपडा, बेडसिट, टावेल, बालबालिकाका कपडा र एक थान सिलाई मेसिन समेत संकलन गरिएको छ। दैनिक भान्साका लागि आवश्यक पर्ने ७५ थान तावा, ७५ थान कराही, २०० थान थाली, २०० थान कचौरा र २०० थान गिलास समेत राहत सामग्रीमा समावेश छ।

विपद्को समयमा जनकपुरधामका उद्योगी, व्यवसायी तथा नागरिकले देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री यादवले राहत सामग्री वास्तविक पीडितसम्म न्यायोचित रूपमा पुर्‍याउन आग्रह गरे। नेपालले पटक-पटक प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्नुपरिरहेकाले यस्तो समयमा सबै क्षेत्र र समुदाय एकजुट भएर सहयोगमा जुट्नुपर्ने उनले बताए। देशमा शान्ति, अमनचयन र नागरिकको भविष्य सुरक्षित होस् भन्ने कामना गर्दै उनले माता जानकीसँग प्रार्थना समेत गरे।

विपद्को समयमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले व्यवसायी तथा विभिन्न संघसंस्थाको सहकार्यमा सामग्री संकलन गरिएको जानकारी जनकपुरधाम उद्योग वाणिज्य संघका राहत संकलन समिति संयोजक जितेन्द्र महासेठले दिए। राहत सामग्री पीडितको हातमा नपुगेसम्म अभियान जारी रहने महासेठले स्पष्ट पारे। संकलित राहत सामग्री लिएर बुधबार बिहान संघको टोली बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको छ।

प्रतिक्रिया