काठमाण्डौं । गएराति र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ । अहिले भने पानी पर्ने क्रम केही घटेको छ । दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी प्रदेशको तराई भेगको थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
यस्तै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेश तराईको एक, दुई ठाउँमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशको पहाडी भेगका एक, दुई ठाउँमा ठूलो वर्षा तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक–दुई ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना छ । राति पनि गण्डकी र बागमती प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भेगमा तथा पर्सि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा ठूलो पानी पर्ने सम्भावना छ । ठूलो पानी पर्ने ठाउँका खोला नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com