कञ्चनपुर । कञ्चनपुरमा स्कुटरको ठक्करबाट एक जना साइकल चालक घाइते हुनुभएको छ । शुक्लाफाँटा नगरपालिका–१० स्थित महेन्द्र राजमार्ग अन्तर्गत झलारीमा १८ वर्षीय ललित जाग्रीले चलाएको सु.प.प्र. ०२००४ प २४४४ नम्बरको स्कुटरले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा झलारीका ५५ वर्षीय नरबहादुर भाट घाइते हुनुभएको हो ।
स्थानीयका अनुसार दुर्घटना झलारी बजारस्थित लक्ष्मी बैंक नजिकै दिउँसो १ बजे भएको थियो । झलारी बजारस्थित डाइमन्ड शृङ्गार पसलका सञ्चालकसमेत रहनुभएका भाट दिउँसो पूर्वबाट पश्चिमसर्फ पसल जाने क्रममा सडक पार गर्दा सोही दिशाबाट आउँदै गरेको स्कुटरले ठक्कर दिएको थियो ।
दुर्घटनालगत्तै पुगेको प्रहरी टोलीले घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ । स्कुटरको ठक्करबाट साइकल चालक भाटको टाउको र कानमा चोट लागेको छ भने स्कुटर चालक जाग्रीको शरीरमा सामान्य चोट लागेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कञ्चन राजचलका अनुसार दुर्घटनामा परी घाइते हुनुभएका साइकल चालक भाटलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल पठाइएको छ भने स्कुटर चालक जाग्रीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
साइकल चालक भाटको अवस्था मध्यम र स्कुटर चालक जाग्रीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारी साधन इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com