काठमाडौं । पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किने घोषणा गरेसँगै बंगलादेशमा राजनीतिक तनाव पुनः हिंसात्मक मोडमा पुगेको छ। प्रतिबन्धित अवामी लिगले आह्वान गरेको देशव्यापी लकडाउनअघि र त्यसपछि राजधानी ढाकासहित विभिन्न जिल्लामा बम विस्फोट, आगजनी र राजनीतिक दलका कार्यकर्ताबीच झडपका घटना भएका छन्।
पछिल्ला दुई दिनमा मात्रै बंगलादेशका २८ जिल्लामा हिंसात्मक गतिविधि भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। घटनामा केही व्यक्तिको मृत्यु भएको छ भने राजधानी ढाकामा कम्तीमा चार जना घाइते भएका छन्। राजनीतिक प्रतिशोध र शक्ति संघर्षका कारण देशको सुरक्षा अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ।
हिंसाको निशानामा अन्तरिम सरकारका पूर्वप्रमुख मोहम्मद युनुससँग सम्बन्धित संरचनासमेत परेका छन्। सिलहट, राजशाही, बारीसाल र फरीदपुरमा रहेको ग्रामीण बैंकका विभिन्न शाखामा आगजनी गरिएको छ। चटगाउँस्थित युनुसको पैतृक घरमा समेत अज्ञात समूहले आगो लगाएको समाचार सार्वजनिक भएको छ।
यता राजधानी ढाकामा अवामी लिगका दुई नेताका घरमा बंगलादेश नेसनलिस्ट पार्टी ९बीएनपी० का कार्यकर्ताले आक्रमण गरी आगजनी गरेको बताइएको छ। राजनीतिक दलबीचको टकराव व्यक्तिगत सम्पत्ति र सार्वजनिक संरचनामाथिको आक्रमणसम्म विस्तार हुन थालेपछि सुरक्षा चुनौती थपिएको छ।
२८ जिल्लामा बम विस्फोट, तीन जिल्लामा मृत्यु
बंगलादेशका ६४ प्रशासनिक जिल्लामध्ये २८ जिल्लामा दर्जनौं घरेलु बम विस्फोट भएका छन्। विभिन्न स्थानमा सवारीसाधनमा समेत आगजनी गरिएको छ। हिंसाका घटनाले राजधानीदेखि ग्रामीण क्षेत्रसम्मको जनजीवन प्रभावित बनेको छ।
पश्चिमी नराइल जिल्लामा अवामी लिगका कार्यकर्ताले बीएनपीको र्यालीमाथि आक्रमण गर्दा दुई स्थानीय नेताको मृत्यु भएको समाचारमा उल्लेख छ। त्यस्तै, फरीदपुरमा एक बीएनपी नेता र पिरोजपुरमा एक यातायात मजदुरको ज्यान गएको छ।
राजनीतिक दलका कार्यकर्ताबीचको झडप, विस्फोट र आगजनीका घटनाले बंगलादेशमा पुनः अस्थिरता बढेको संकेत गरेको छ। पछिल्लो हिंसाको प्रमुख कारणका रूपमा पूर्वप्रधानमन्त्री हसिनाको स्वदेश फिर्तीसम्बन्धी घोषणालाई हेरिएको छ।
मृत्युदण्डको सजायपछि पनि फर्किने हसिनाको अडान
अवामी लिगले पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा विशेष न्यायाधिकरणले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको अवसर पारेर लकडाउन आह्वान गरेको हो।
सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन अर्थात् जुलाई विद्रोहपछि हसिना नेतृत्वको सरकार ढलेको थियो। त्यसयता उनी भारतमा बस्दै आएकी छन्। उनको बहिर्गमनपछि मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।
यसै महिनाको सुरुवातमा हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा बंगलादेश फर्किने घोषणा गरेकी थिइन्। उनको उक्त घोषणापछि अवामी लिगका समर्थक सक्रिय हुन थालेका छन् भने विपक्षी राजनीतिक शक्तिहरूले त्यसको प्रतिवाद गरिरहेका छन्।
मंगलबार हसिनाको गृहनगर तुंगिपारामा उनका समर्थक भएको आशंकामा करिब ३० जनालाई पक्राउ गरिएको थियो। त्यसपछि सयौं प्रदर्शनकारीले प्रहरी चौकी घेराउ गरेका थिए। प्रदर्शनकारीको दबाबपछि प्रहरीले चौकी खाली गर्नुपरेको समाचारमा उल्लेख छ।
प्रधानमन्त्री रहमानको अवामी लिगमाथि कडा टिप्पणी
बढ्दो राजनीतिक तनावबीच प्रधानमन्त्री तारिक रहमानले अवामी लिगलाई आतंकवादी संगठन र पराजित फासिस्ट शक्तिको संज्ञा दिएका छन्। बुधबार राति उनले लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भएर राजनीतिक अस्थिरताको सामना गर्न आह्वान गरेका थिए।
यसअघि मंगलबार राति संसद्मा सम्बोधन गर्दै रहमानले सन् २०२४ को विद्यार्थी आन्दोलनको भावनालाई आत्मसात् गर्दै निरंकुश शक्तिविरुद्ध पुनः एकजुट हुनुपर्ने बताएका थिए।
'द डेली स्टार'का अनुसार रहमानले सरकारी संयन्त्रको भरमा मात्रै नपरी सांसदहरूलाई समेत सडकमा सक्रिय हुन आग्रह गरेका छन्। उनको अभिव्यक्तिले अवामी लिग र वर्तमान सत्तापक्षबीचको राजनीतिक दूरी अझ बढेको देखिन्छ।
ढाकाबाट एकै दिन ५६५ जना पक्राउ
हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले राजधानी ढाकासहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ। हसिनाको जन्मस्थान गोपालगञ्जलगायत विभिन्न जिल्लामा अर्धसैनिक बल बोर्डर गार्डका हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रहरीले पछिल्लो २४ घण्टामा राजधानी ढाकाबाट मात्रै ५६५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हसिना नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षामन्त्री रहेका नुरुल इस्लाम नाहिदसमेत छन्।
गृहमन्त्री सलाहुद्दिन अहमदले अडियो तथा भिडियो प्रमाणका आधारमा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गरिने बताएका छन्। सरकारले हिंसा नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्रिय बनाएको छ।
सन् २०२४ मा हसिना नेतृत्वको सरकार ढलेपछि युनुसको नेतृत्वमा बनेको अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि राजनीतिक तनावका क्रममा बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको ढाकास्थित धानमण्डी निवास तथा सन् १९७१ को मुक्ति संग्रामसँग सम्बन्धित स्मारकहरूमा समेत तोडफोड र विध्वंसका घटना भएका थिए।
सरकार परिवर्तनपछि पनि राजनीतिक सहमति र स्थायित्व कायम हुन नसक्नु बंगलादेशको प्रमुख चुनौती देखिएको छ। हसिनाको स्वदेश फिर्तीको घोषणा, अवामी लिगमाथिको प्रतिबन्ध र राजनीतिक दलबीच बढ्दो अविश्वासले पछिल्लो हिंसालाई थप जटिल बनाएको छ। पछिल्ला घटनाक्रमले बंगलादेशको राजनीतिक संक्रमण अझै सहज बाटोमा अघि बढ्न नसकेको संकेत गरेका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com