info@nawayug.com

इलामका दुईसहित सात जिल्लाका १८ जनप्रतिनिधिको पद रिक्त

इलाम। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित सात जिल्लाका १८ जनप्रतिनिधिको पद रिक्त भएको सूचना सार्वजनिक गरेको छ। पद रिक्त हुनेमा इलामका दुई जनप्रतिनिधि पनि छन्।

आयोगका अनुसार इलामको माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष विनोदकुमार नेम्बाङ र सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढालबहादुर गुरुङको पद रिक्त भएको हो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिबाट दल त्याग गरेको जानकारी प्राप्त भएपछि उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै खोटाङका आठ जनप्रतिनिधिको पद रिक्त भएको छ। त्यस्तै, सिरहाका तीन, पर्साका दुई, इलामका दुई तथा भोजपुर, उदयपुर र सुनसरीका एक–एक जनाको पद रिक्त भएको छ।

पद रिक्त हुनेमा सिरहाका रामचरित्र महतो, रमेशकुमार यादव र विजयकुमार महतो छन्। पर्साका लालबाबु राउत बरै र सञ्जयकुमार पटेलको पद पनि रिक्त भएको छ।

त्यसैगरी, खोटाङका सनबहादुर राई, गुरुराज राई, मुगा धन राई, कल्पना राई, गीता विक, रामधन राई, शहरमनी राई र वीरेन्द्रकुमार दर्नालको पद रिक्त भएको आयोगले जनाएको छ।

भोजपुरका बालचन्द्र राई, उदयपुरका छत्रबहादुर राई र सुनसरीका जुडिलाल कोड्गियाको पदसमेत रिक्त भएको छ।

आयोगले २०८३ मङ्सिर २ गते निर्णय गरी मङ्सिर ३ गते यससम्बन्धी सूचना प्रकाशित गरेको हो। पद रिक्त भएका जनप्रतिनिधि विभिन्न नगरपालिका, गाउँपालिका, जिल्ला समन्वय समिति तथा वडामा निर्वाचित भएका थिए।

प्रतिक्रिया