info@nawayug.com

नयाँ नेपाली राजदूत पाण्डेले भारतमा बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त आवासीय राजदूत डा. निश्चलनाथ पाण्डेले पदभार सम्हालेको दुई दिनमै भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्। भारत पुगेको दुई दिनमै प्रमाणपत्र बुझाउने उनी पहिलो नेपाली राजदूत बनेका छन्।

भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायका अनुसार यसअघि कुनै पनि नेपाली राजदूतले यति छोटो समयमा ओहोदाको प्रमाणपत्र बुझाउने अवसर पाएका थिएनन्।

पाण्डेले छिट्टै ओहोदाको प्रमाणपत्र बुझाउन पाउनुलाई नेपाल–भारत सम्बन्धका दृष्टिले सकारात्मक रूपमा लिँदै उपाध्यायले यसलाई दुई देशबीचको सम्बन्ध सुधार्न भारत इच्छुक रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

‘यो ऐतिहासिक हो, नेपालसँग भारतले सम्बन्ध सुधार्न चाहेको संकेत हो,’ उपाध्यायले भने।

यसअघि भारतका लागि नियुक्त नेपाली राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाउन डेढ महिनादेखि तीन महिनासम्म कुर्नुपर्ने अवस्था थियो। तर, यसपटक पाण्डेले दिल्ली पुगेको दुई दिनमै उक्त प्रक्रिया पूरा गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा गत कात्तिक ३० गते डा. पाण्डेलाई भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका थिए। सोही दिन राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। त्यसलगत्तै पाण्डे भारतका लागि प्रस्थान गरेका थिए।

ओहोदाको प्रमाणपत्र बुझाएसँगै भारतका लागि नेपाली राजदूतका रूपमा पाण्डेको कूटनीतिक जिम्मेवारी औपचारिक रूपमा अघि बढेको छ।

प्रतिक्रिया