info@nawayug.com

लर्ड्समा नेपाली क्रिकेटको नयाँ अध्याय, बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी वर्ष इङ्ल्यान्डको ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ। मेरीलेबोन क्रिकेट क्लब (एमसीसी)ले सन् २०२७ जुन ३ मा नेपाल र बंगलादेशबीच पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने घोषणा गरेको हो।

क्रिकेटको घरका रूपमा परिचित लर्ड्स मैदानमा हुन लागेको यो खेल नेपाली क्रिकेटका लागि विशेष उपलब्धिका रूपमा रहनेछ। उक्त दिन नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय खेलपछि लर्ड्समै मिडलसेक्सको टी–२० ब्लास्टअन्तर्गत घरेलु खेलसमेत आयोजना हुनेछ। यसरी एउटै दिन एउटै मैदानमा अन्तर्राष्ट्रिय र घरेलु पुरुष क्रिकेटका दुई खेल हुन लागेको यो पहिलो अवसर हो।

एमसीसीका अनुसार नेपाल र बंगलादेशका समर्थकले प्रत्यक्ष टेलिभिजन प्रसारणमार्फत खेल हेर्न सक्ने गरी खेलको समय निर्धारण गरिनेछ।

आयरल्यान्ड र स्कटल्यान्डसँग पनि खेल्ने

एमसीसीको आयोजनामा हुने इङ्ल्यान्ड भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि विभिन्न अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छ।

भ्रमणको सुरुवातमा नेपालले सन् २०२७ जुन १ मा वर्मस्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुनेछ।

नेपालले जुन ६ मा आयरल्यान्डसँग वर्मस्लीमा ५० ओभरको खेल खेल्नेछ भने जुन ९ मा सोही मैदानमा टी–२० खेल हुनेछ। त्यस्तै, जुन ११ र १२ मा बेकनह्याममा आयरल्यान्डसँग थप दुई टी–२० खेल खेल्ने कार्यक्रम रहेको छ।

भ्रमणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता दिएको छ। इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले पनि भ्रमणलाई स्वीकृति प्रदान गरेको छ।

लर्ड्समा नेपालको दोस्रो टी–२० अन्तर्राष्ट्रिय

नेपालले यसअघि सन् २०१८ मा एमसीसीसँगको त्रिकोणात्मक शृंखलाअन्तर्गत लर्ड्स मैदानमा नेदरल्यान्ड्ससँग खेलेको थियो। सन् २०२७ को खेल उक्त मैदानमा नेपालको दोस्रो पुरुष टी–२० अन्तर्राष्ट्रिय हुनेछ।

बंगलादेशको पुरुष राष्ट्रिय टोलीले भने लर्ड्समा पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय खेल्न लागेको हो। यद्यपि, बंगलादेशको महिला टोलीले यसै वर्ष दक्षिण अफ्रिकासँग आईसीसी महिला टी–२० विश्वकपका क्रममा लर्ड्समा प्रतिस्पर्धा गरिसकेको छ।

बंगलादेशको पुरुष टोलीले आगामी वर्ष मे महिनाको अन्त्यतिर लर्ड्समै इंग्ल्यान्डसँग टेस्ट खेल्ने कार्यक्रमसमेत छ। यससँगै १७ वर्षपछि बंगलादेशको पुरुष टोली उक्त मैदानमा टेस्ट खेल्न फर्कनेछ।

नेपाली क्रिकेट विकासमा एमसीसीको सहकार्य

एमसीसी र नेपाल क्रिकेट संघ (क्यान)बीच पछिल्ला वर्षमा क्रिकेट विकासका लागि सहकार्य विस्तार हुँदै आएको छ। एमसीसी फाउन्डेसनले सन् २०१९ देखि नेपालमा क्रिकेटमार्फत सामाजिक परिवर्तन र युवा सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

क्यानसँगको सहकार्यमा कोशी र मधेस प्रदेशमा क्रिकेट परियोजना सञ्चालन भइरहेका छन्। गत वर्ष मात्रै यी परियोजनामा ४५ हजारभन्दा बढीले सहभागिता जनाएको एमसीसीले जनाएको छ। परियोजनाबाट लाभान्वित केही खेलाडी नेपाली राष्ट्रिय युवा टोलीमा समेत छनोट भएका छन्।

एमसीसीका प्रमुख कार्यकारी तथा सचिव रोबर्ट लसनले नेपाली क्रिकेटप्रतिको असाधारण लगाव आफूहरूले प्रत्यक्ष अनुभव गरेको उल्लेख गर्दै लर्ड्समा नेपाल र बंगलादेशबीचको खेल आयोजना गर्न पाउँदा खुसी व्यक्त गरेका छन्।

क्यानका सचिव पारस खड्काले लर्ड्समा पुनः खेल्न पाउनु नेपाली क्रिकेटका लागि गर्व र सम्मानको विषय भएको बताएका छन्। त्यस्तै, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बंगलादेशजस्तो आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग लर्ड्समा खेल्न पाउनु ऐतिहासिक उपलब्धि हुने बताएका छन्।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष तामिम इकबालले पनि यस खेलले नेपाल र बंगलादेशका क्रिकेटप्रेमीलाई एउटै ऐतिहासिक अवसरमा जोड्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया