info@nawayug.com

चार दशकपछि झापामा कोटी हवन महायज्ञ, सताक्षीधाममा विशेष धार्मिक अनुष्ठान

झापा । झापाको धार्मिक इतिहासमा चार दशकभन्दा लामो अन्तरालपछि कोटी हवन महायज्ञ आयोजना हुने भएको छ। शिवसताक्षी नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल सताक्षीधाममा आगामी माघ ९ गतेदेखि ‘शतकुण्डीय गायत्री कोटी हवन महायज्ञ’ सञ्चालन हुने भएको हो।

वैदिक सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गोलोक गोवर्धन गौशालाको आयोजनामा हुन लागेको महायज्ञलाई पूर्वी नेपालकै महत्वपूर्ण धार्मिक अनुष्ठानका रूपमा हेरिएको छ। आयोजकका अनुसार झापामा यसअघि २०४२ सालमा कोटी हवन महायज्ञ आयोजना गरिएको थियो। त्यसबेला राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा कनकाईधाममा एक करोड गायत्री मन्त्रद्वारा हवन गरिएको थियो।

त्यसको करिब ४१ वर्षपछि पुनः झापामा कोटी हवन हुन लागेको हो। यसले जिल्लाको धार्मिक इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

महायज्ञको पूर्वतयारीस्वरूप मङ्सिर ५ गते सताक्षीधाममा विशेष धार्मिक विधिअनुसार भूमिपूजन गरिने भएको छ। महायज्ञको मुख्य हवनकुण्ड निर्माणस्थलमा ‘सुनको हलो’ प्रयोग गरी भूमि खनन गरेर वैदिक परम्पराअनुसार भूमिपूजन गर्ने कार्यक्रम तय भएको गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोरजी भारद्वाजले जानकारी दिए।

भूमिपूजन समारोहमा नेपालसहित भारत, भुटान, अमेरिका, क्यानडा र अस्ट्रेलियालगायत विभिन्न देशबाट सन्त, महात्मा तथा धार्मिक गुरुहरूको सहभागिता रहने आयोजकले जनाएको छ। धार्मिक परम्पराअनुसार गरिने भूमिपूजनलाई महायज्ञको औपचारिक तयारीको महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

महाभारतकालीन किंवदन्तीसँग जोडिएको धाम

सताक्षीधाम धार्मिक आस्था, पौराणिक विश्वास र प्राकृतिक सौन्दर्यको संगमस्थलका रूपमा परिचित छ। महाभारतकालमा पाण्डवहरूले गुप्तवासका क्रममा यस क्षेत्रमा विचरण गरेको धार्मिक किंवदन्ती छ। त्यस्तै, सतीदेवीको अङ्ग पतन भएपछि सताक्षी देवीको उत्पत्ति भएको मान्यताले पनि यस क्षेत्रको धार्मिक महत्त्व बढाएको छ।

चुरे पहाडको फेदीमा अवस्थित सताक्षीधाम प्राकृतिक दृष्टिले पनि आकर्षक छ। पछिल्लो समय यहाँ धार्मिक पूर्वाधार निर्माण र गौ संरक्षणका गतिविधिले धामको पहिचान थप फराकिलो बनाएको छ।

२०७२ सालमा गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यस क्षेत्रमा धार्मिक गतिविधिले थप गति लिएको हो। गौशालामा हाल दुई हजार पाँच सय गाईको संरक्षण भइरहेको आयोजकले जनाएको छ। गौ संरक्षणसँगै सनातन संस्कृति र धार्मिक परम्पराको संरक्षणलाई पनि गौशालाले आफ्नो प्राथमिकतामा राख्दै आएको छ।

गौशालाको सक्रियतापछि धामसम्म पुग्ने सडक कालोपत्र गरिएको छ। धाम परिसरमा दर्जनौँ मठमन्दिर, देवालय, अतिथिगृह, सुविधासम्पन्न गौशाला, रामदरबार तथा द्वादश ज्योतिर्लिङ्गलगायतका संरचना निर्माण भएका छन्। यी संरचनाले सताक्षीधामलाई धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउँदै लगेका छन्।

धार्मिक पर्यटनको नयाँ सम्भावना

चार दशकपछि हुन लागेको कोटी हवन महायज्ञलाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी सताक्षीधामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने अवसरका रूपमा समेत हेरिएको छ। शतकुण्डीय हवन, सन्तहरूको सहभागिता र विभिन्न देशबाट आउने श्रद्धालुको उपस्थितिले यस क्षेत्रको धार्मिक पर्यटनमा थप चहलपहल बढाउने अपेक्षा गरिएको छ।

महायज्ञले विश्व शान्ति, प्राणी कल्याण र वैदिक परम्पराको संरक्षणमा योगदान पुर्‍याउने विश्वास आयोजकको छ। स्वदेश तथा विदेशबाट लाखौँ श्रद्धालु भक्तजनलाई एउटै आध्यात्मिक सूत्रमा जोड्ने लक्ष्य राखिएको अध्यक्ष भारद्वाजले बताए।

धार्मिक तथा पौराणिक महत्त्व बोकेको सताक्षीधाममा हुन लागेको यो महायज्ञले झापाको धार्मिक इतिहासलाई पुनः चर्चामा ल्याउनुका साथै पूर्वी नेपालमा धार्मिक पर्यटनको सम्भावनालाई थप उजागर गर्ने देखिन्छ।

प्रतिक्रिया