info@nawayug.com

चिकित्सा शिक्षामा ४१८ सिट थपिए, सरकारी शिक्षण संस्थालाई प्राथमिकता

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि देशभरका विभिन्न शिक्षण संस्थामा ९ हजार ६ सय ९१ सिट निर्धारण गरेको छ। आयोगले यस वर्ष समग्रमा ४ सय १८ सिट थप गरेको हो।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको बैठकले सिट सङ्ख्या बढाउने निर्णय गरेको हो।

यस वर्ष थपिएका सिटको लाभ सरकारी तथा सार्वजनिक शिक्षण संस्थाले मात्रै पाएका छन्। निजी मेडिकल कलेजहरूको सिट सङ्ख्यामा भने कुनै वृद्धि गरिएको छैन।

आयोगका अनुसार सिट माग गर्दै ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरेका थिए। अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा ८४ वटा संस्थालाई मात्र सिट स्वीकृत गरिएको छ। सरकारी शिक्षण संस्थाको क्षमता अभिवृद्धि र चिकित्सा शिक्षामा पहुँच विस्तारलाई प्राथमिकता दिँदै सिट बाँडफाँट गरिएको आयोगले जनाएको छ।

एमबीबीएसतर्फ गत वर्षको तुलनामा ११० सिट थप गरिएको छ। नवगठित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट पाएको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा ३०–३० सिट थप गरिएको छ। निजी मेडिकल कलेजको एमबीबीएस सिट सङ्ख्या भने यथावत् राखिएको छ।

त्यसैगरी, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट वृद्धि गरिएको छ। यी विषयमा सिट थपिएसँगै स्वास्थ्य तथा चिकित्सा शिक्षाका विभिन्न विधामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अवसर विस्तार हुने अपेक्षा गरिएको छ।

सरकारी तथा सार्वजनिक शिक्षण संस्थामा सिट सङ्ख्या बढाइएपछि विपन्न तथा जेहेन्दार विद्यार्थीले छात्रवृत्ति र सुलभ शुल्कमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर थप पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया