info@nawayug.com

युक्रेनको हवाई सुरक्षा चुनौतीमा, प्याट्रियट क्षेप्यास्त्र अभावले बढायो जोखिम

काठमाडौँ  । युक्रेनसँग रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न प्रयोग गरिने अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टर क्षेप्यास्त्र सकिएको जनाइएको छ । 

यसले युक्रेनलाई रुसका क्षेप्यास्त्र आक्रमणविरुद्ध थप जोखिममा पारेको समाचारमा उल्लेख छ ।

अमेरिकी समाचार संस्था सीएनएनका अनुसार, युक्रेनसँग प्याट्रियट प्रणालीमा प्रयोग हुने क्षेप्यास्त्रको मौज्दात सकिएको हो । पछिल्लो रुसी आक्रमणमा प्रहार गरिएका अधिकांश ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्न नसक्नुको प्रमुख कारण प्रतिरक्षा क्षेप्यास्त्रको अभाव थियो ।

यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको विवाद चर्किरहेका बेला सार्वजनिक भएको हो । रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा निरन्तर आक्रमण गरिरहेका बेला वासिङ्टनले भने युक्रेनलाई रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण रोक्न दबाब दिइरहेको छ ।

ट्रम्प प्रशासनको हालै रुसी डिजेल आयात गर्ने सम्झौता अघि बडाएपछि जेलेन्स्कीले आफूलाई धोका दिएको महसुस भएको बताएका थिए । त्यसपछि उनले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने घोषणा गरेका थिए ।

रुसी आक्रमणबाट ऊर्जा पूर्वाधारमा क्षति

रुसले बुधबार युक्रेनको राजधानी किभमा तीनवटा विद्युत् उत्पादन केन्द्रमा क्षेप्यास्त्र आक्रमणले प्रहार भएको थियो । खार्किभको ऊर्जा पूर्वाधारलाई पनि निशाना बनाइएको थियो । युक्रेनी वायुसेनाले भने आक्रमणका क्रममा चारवटा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालेको बताएको थियो । तर, प्याट्रियट क्षेप्यास्त्रको अभावका कारण बाँकी क्षेप्यास्त्र रोक्न कठिन भएको स्रोतको भनाइ छ ।

युक्रेनले यसअघि पनि प्याट्रियट क्षेप्यास्त्रको अभाव सामना गरिसकेको छ । जेलेन्स्कीले पछिल्ला महिनाहरूमा अमेरिकासँग थप प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउन निरन्तर आग्रह गर्दै आएका छन् ।

गत अगस्टमा एक अन्तर्वार्तामा जेलेन्स्कीले सहयोगी देशहरूसँग थप प्याट्रियट क्षेप्यास्त्र जुटाउन आफूले दिनहुँ असङ्ख्य फोन गर्ने गरेको बताएका थिए । त्यसबेला युक्रेनसँग तत्काल आवश्यक पर्ने क्षेप्यास्त्रको केवल १० प्रतिशत मात्र उपलब्ध रहेको उनको भनाइ थियो ।

त्यसको एक महिनापछि उनले अमेरिकाबाट प्याट्रियट क्षेप्यास्त्र उत्पादन गर्ने अनुमति प्राप्त हुने आशा व्यक्त गरेका थिए । तर, ट्रम्पले त्यसबारे स्पष्ट प्रतिबद्धता जनाएनन् र उत्पादन अनुमति पनि प्राप्त हुन सकेन ।

प्याट्रियट क्षेप्यास्त्र महँगा छन् र विश्व बजारमा तिनको आपूर्ति सीमित छ । रुस–युक्रेन युद्धका अतिरिक्त इरानसँग सम्बन्धित युद्धका कारण अन्य देशले पनि आफ्नो प्रतिरक्षा प्रणालीका लागि क्षेप्यास्त्र सञ्चिति बढाउन खोजिरहेका छन् । यसले युक्रेनका लागि थप क्षेप्यास्त्र जुटाउन कठिन बनाएको छ ।

रुसी ऊर्जा केन्द्रमा आक्रमण रोक्न अमेरिकाको दबाब

जेलेन्स्कीले रुसी ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने विषयलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने सर्तसँग जोड्न खोजेका छन् ।

बेलायती अखबार फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा उनले युक्रेनले रुसी ऊर्जा केन्द्रमा आक्रमण रोक्न सहमति जनाउन सक्ने भए पनि त्यसका लागि कम्तीमा थप प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्र उपलब्ध गराउनुपर्ने बताएका थिए ।

उनले हवाई प्रतिरक्षा क्षमता बढाउन आग्रह गर्दा अमेरिकी पक्षले आफ्नो देशमा एलन मस्कको स्टारलिङ्क सेवामा प्रतिबन्ध लगाएको आरोपसमेत लगाए ।

बुधबार सार्वजनिक सन्देशमार्फत जेलेन्स्कीले अमेरिकासँग थप प्याट्रियट क्षेप्यास्त्र उपलब्ध गराउन पुनः आग्रह गरेका थिए । उनले आक्रमणकारीमाथि दबाब, न्याय र शक्तिको प्रयोगमार्फत शान्ति नजिक ल्याउन अमेरिकी राष्ट्रपतिसँग आवश्यक साधन रहेको बताएका थिए ।

यसैबीच, ट्रम्प प्रशासनले युक्रेन र युरोपेली सहयोगीहरूलाई रुसी ऊर्जा पूर्वाधारमा लामो दूरीका आक्रमण नरोकिए युक्रेनका लागि अमेरिकी हतियार खरिद तथा गुप्तचर सूचना आदानप्रदान रोक्न सकिने चेतावनी दिएको जनाइएको छ ।

यो चेतावनी अमेरिकी विदेश मन्त्रालय र पेन्टागनले युक्रेन तथा युरोपेली अधिकारीहरूलाई पठाएका सन्देशमार्फत दिइएको बताइएको छ । अमेरिकी सेनाले युक्रेनी सैन्य कमान्डरहरूसँग पनि यस विषयमा सम्पर्क गरेको जनाइएको छ ।

युक्रेनका लागि युरोपेली देशले अमेरिकाबाट हतियार खरिद गर्ने ‘प्रायोरिटाइज्ड युक्रेन रिक्वायरमेन्ट्स लिस्ट’ (पीयूआरएल) नामक व्यवस्थामार्फत हुने आपूर्तिमा रोक लागेमा भविष्यमा प्याट्रियट क्षेप्यास्त्र प्राप्तिमा समेत असर पर्न सक्छ । यद्यपि, ट्रम्पले अमेरिकाले युक्रेनसँग गुप्तचर सूचना आदानप्रदान बन्द नगरेको दाबी गरेका छन् ।

स्टारसिल्ड सेवामा पनि अवरोध

प्याट्रियट क्षेप्यास्त्रको अभावसँगै युक्रेनले अमेरिकी गुप्तचर सहयोग र सैन्य सञ्चार प्रणालीमा देखिएको समस्यासमेत सामना गरिरहेको छ । एलन मस्कको कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिङ्कको सैन्य प्रयोजनका लागि प्रयोग हुने संस्करण स्टारसिल्डको सेवामा आएको अवरोधले युक्रेनी सेनाको सैन्य कारबाही, सैन्य सामग्री ढुवानी तथा जेट इन्जिनबाट चल्ने ड्रोन आक्रमण रोक्ने क्षमतामा असर पारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

बिहीबारसम्म स्टारसिल्ड सेवा आंशिक रूपमा पुनः सञ्चालनमा आएको भए पनि उच्च गतिमा सञ्चालन हुने सैन्य हतियार प्रणालीमा केही समस्या बाँकी रहेको युक्रेनी अधिकारीहरूको भनाइ छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले बिहीबार बिहान रुसले मध्यरातदेखि ८५० भन्दा बढी आक्रमणकारी ड्रोन प्रहार गरेको बताएका थिए । त्यस्तो समयमा आफ्नो प्रतिरक्षा क्षमताको गति कृत्रिम रूपमा सीमित गरिएको उनको आरोप थियो ।

अमेरिकाका लागि युक्रेनका शीर्ष कूटनीतिक प्रतिनिधि डेनिस सिएनिकले पनि स्टारसिल्डको गति सुधार भए पनि सेवा पूर्ण रूपमा पुरानै अवस्थामा नफर्किएको बताएका छन् । युक्रेनले सेवा पूर्ण रूपमा पुनःस्थापित हुने आशा गरेको उनको भनाइ छ ।

स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले स्टारसिल्ड प्रणाली अमेरिकी सरकारको स्वामित्व र नियन्त्रणमा रहेको बताएका छन् । यसको गति र प्रयोगमा लगाइने कुनै पनि सीमा अमेरिकी सेना र राष्ट्रपतिको निर्णयमा निर्भर हुने उनको भनाइ छ ।

प्रतिक्रिया