काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेश र बागमती प्रदेशबाट निर्वाचित हुने पदहरूको अन्तिम मतपरिणाम आएपछि असोज २३ गते रातिदेखि सुरु भएको मतगणना सकिएको हो।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडिततर्फका केन्द्रीय सदस्यहरूको मतगणना यसअघि नै सम्पन्न भएको थियो। सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको उनले जानकारी दिए।
सबै पदको मतगणना सकिए पनि मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
असोज २३ गते मतदान सम्पन्न भएपछि सोही राति सभापति पदको मतगणना सुरु गरिएको थियो। सभापतिको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो भने अन्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो। झण्डै एक सातामा सबै पदको मतगणना पूरा भएको हो।
कटुवालका अनुसार कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक भने ७ हजार ३९२ मतदाताको मतगणना एक सातामै सम्पन्न भएको छ। दिनरात गरी झण्डै २५ समूह बनाएर मतगणना गरिएकाले यसपटक प्रक्रिया छिटो टुंगिएको उनको भनाइ छ।
यस महाधिवेशनमा करिब १ लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
निर्वाचन समितिका अनुसार मतदान तथा मतगणनाका क्रममा कुनै विवाद उत्पन्न नभई निर्वाचन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी गरिएको छ।
शपथग्रहणपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने र उक्त बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी तथा रणनीतिबारे छलफल गर्ने तयारी रहेको नेताहरूले बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com