काठमाण्डौ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि नाका बन्द गरेको हो ।
यात्रु आवतजावत खुला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात–निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ । रसुवागढी नाका पनि बाढीले क्षतिग्रस्त भएपछि अब कोरला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ ।
गएको बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनुअघि नेपाली व्यवसायीले तातोपानी, टिमुरे (रसुवागढी) र कोरला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए । नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको हो ।
तातोपानी नाका साउनको शुरुदेखि करिब तीन हप्तासम्म पूर्ण रूपमा बन्द थियो । साउन तेस्रो हप्तादेखि सीमित रूपमा यातायात सञ्चालनमा आएको करिब १० दिनपछि रसुवामा गएको बुधबार आएको भीषण बाढीपछि चिनियाँ पक्षले फेरि अर्को सूचना नभएसम्म तातोपानी नाका बन्द गरेको हो ।
तातोपानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुवैतर्फका व्यवसायी प्रभावित बनेका छन् । रसुवागढीको टिमुरे बजारसमेत बाढीले बगाएपछि नेपाल–चीन व्यापारमा थप समस्या सिर्जना भएको छ ।
दशैँ नजिकिँदै गर्दा व्यवसायी सम्भावित वस्तु अभावलाई लिएर थप चिन्तित बनेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com