info@nawayug.com

मनुस्मृतिसम्बन्धी राहुल गान्धीको अभिव्यक्तिले भारतमा बढायो राजनीतिक तकरार

नयाँदिल्ली । भारतीय कांग्रेसका नेता तथा लोकसभा विपक्षी दलका नेता राहुल गान्धीले मनुस्मृति र भारतीय समाजमा जातीय विभेदसँग जोडिएको विषयमा दिएको अभिव्यक्तिलाई लिएर भारतमा राजनीतिक विवाद चर्किएको छ।

हालै पूणेमा आयोजित विद्यार्थी तथा नवयुवाहरूको कार्यक्रममा गान्धीले समाजमा स्त्रीकोविरुद्ध हिंसा स्वीकार्य नहुने भन्दै भाजपाले संविधान होइन मनुस्मृति बोकेर हिँड्ने गरेको बताएका थिए । उनले मनुस्मृति प्राचीन ग्रन्थ भएकाले त्यसमा धेरैजसो कुरा महिला र दलितहरुप्रति आजको युगमा सुहाउँदो नरहेको बताएका थिए ।

कक्रोच आन्दोलनमा क्रममा केही छात्राले गाली गरेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले गाली दिन केटीहरूलाई सुहाउँदैन भन्ने अभिव्यक्ति दिनु मनुवादी चिन्तन रहेको बताएका थिए । त्यही गाली केटाले दिन हुने तर केटीले दिन नहुने भन्ने चिन्तन भाजपा र मोदीको माइन्डसेटमा रहेको गान्धीको टिप्पणी थियो ।

राहुलको अभिव्यक्तिप्रति सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले तीव्र आपत्ति जनाउँदै त्यसलाई ‘शर्मनाक’ भनेका छन्। भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार राहुलको टिप्पणीलाई लिएर भाजपा र कांग्रेसका नेताबीच आरोप-प्रत्यारोपसमेत सुरु भएको छ।

राहुल गान्धीले आफ्नो वक्तव्यमा मनुस्मृतिलाई भारतीय समाजमा जातीय असमानता र सामाजिक विभाजनसँग जोड्दै त्यसको आलोचना गरेका थिए। उनले संविधानले समानता र अधिकारको प्रत्याभूति गरेको उल्लेख गर्दै संविधानको मूल्य र मनुस्मृतिबाट निर्देशित सामाजिक व्यवस्थाबीचको अन्तरबारे धारणा राखेका थिए।

राहुलको अभिव्यक्तिपछि भाजपाका नेताहरूले भने कांग्रेस नेताले हिन्दू धर्मसँग सम्बन्धित प्राचीन ग्रन्थप्रति अपमानजनक धारणा राखेको आरोप लगाएका छन्। भाजपाले राहुलको टिप्पणीलाई ‘शर्मनाक’ भन्दै त्यसले भारतीय परम्परा र धार्मिक आस्थाको अपमान गरेको दाबी गरेको छ।

भाजपा नेताहरूले राहुलले आफ्नो राजनीतिक विरोधका क्रममा हिन्दू धर्म र परम्परालाई निशाना बनाएको आरोपसमेत लगाएका छन्। उनीहरूले कांग्रेस नेताबाट यस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।

राहुलको जोड संविधानमा

राहुल गान्धीले भने आफ्नो अभिव्यक्तिको सन्दर्भलाई धार्मिक आस्थाको अपमानभन्दा सामाजिक समानता र संवैधानिक अधिकारको बहसका रूपमा प्रस्तुत गरेका छन्।

उनले भारतको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको उल्लेख गर्दै जात, धर्म, लिंग वा सामाजिक पृष्ठभूमिका आधारमा विभेद स्वीकार गर्न नसकिने धारणा राख्दै आएका छन्।

राहुलले भारतीय समाजमा लामो समयदेखि कायम सामाजिक असमानताको बहस गर्दा मनुस्मृतिको ऐतिहासिक प्रभावबारे प्रश्न उठाएका हुन्।

मनुस्मृतिमाथि राजनीतिक बहस पुरानै

भारतमा मनुस्मृतिको विषय नयाँ राजनीतिक विवाद भने होइन। जातीय व्यवस्था, सामाजिक विभेद र दलित अधिकारको बहसमा मनुस्मृतिको उल्लेख हुँदै आएको छ।

विशेषगरी डा। भीमराव अम्बेडकरले मनुस्मृतिमा आधारित सामाजिक व्यवस्थाको आलोचना गरेका थिए। त्यसैले भारतीय संविधान, सामाजिक न्याय र जातीय समानताको बहसमा मनुस्मृति अहिले पनि संवेदनशील राजनीतिक विषयका रूपमा रहने गरेको छ।

राहुल गान्धीको पछिल्लो अभिव्यक्तिले यही पुरानो बहसलाई फेरि राजनीतिक वृत्तको केन्द्रमा ल्याएको छ।

भाजपाले राहुलको टिप्पणीलाई धार्मिक भावनामाथिको प्रहारका रूपमा व्याख्या गरिरहेको छ भने कांग्रेस पक्षले त्यसलाई जातीय विभेदविरुद्धको राजनीतिक र संवैधानिक बहसका रूपमा प्रस्तुत गरिरहेको छ।

यस विषयलाई लिएर भारतका विभिन्न सञ्चारमाध्यममा समाचार तथा विश्लेषण प्रकाशित भइरहेका छन्। पछिल्लो विवादले भारतमा हिन्दू परम्परा, मनुस्मृति, जातीय व्यवस्था, सामाजिक न्याय र संविधानबीचको सम्बन्धबारे राजनीतिक बहसलाई थप तातेको छ।

प्रतिक्रिया