info@nawayug.com

एनपीएल डेब्यूमै डेविड वार्नर आउट, सोमपाल कामीले गरे बोल्ड

काठमाडौं । अष्ट्रेलियन ब्याटर डेविड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यू गरेका छन्। तर उनको पहिलो खेल भने अपेक्षाअनुसार यादगार बन्न सकेन। काठमाडौं गोर्खाजबाट ओपनिङ गरेका वार्नरलाई कर्णाली याक्सका कप्तान सोमपाल कामीले बोल्ड गरेका हुन्।

सोमपालको बलमा आउट हुनुअघि वार्नरले १० बलमा १६ रन बनाए। आक्रामक सुरुवात गर्ने क्रममा उनले दोस्रो ओभरको चौथो र पाँचौँ बलमा सोमपाललाई लगातार दुई चौका प्रहार गरेका थिए।

तर ओभरको अन्तिम बलमा सोमपालले उत्कृष्ट बलिङ गर्दै वार्नरको विकेट लिए। वार्नरलाई बोल्ड गरेपछि सोमपालले मैदानमा गरेको खुसीको सेलिब्रेसनले पनि दर्शकको ध्यान खिचेको थियो।

वार्नरका चौका र छक्का हेर्न त्रिवि क्रिकेट मैदान पुगेका दर्शक उनको छोटो इनिङपछि निराश बनेका छन्। वार्नरको विकेट गुमेसँगै काठमाडौं गोर्खाजको क्याम्पमा पनि निराशा छाएको छ।

कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाजका लागि वार्नरको विकेट महत्त्वपूर्ण क्षति बनेको छ।

प्रतिक्रिया